सुनकोशी मरिणमा ढिलासुस्ती भए ठेक्का तोडिन्छ : प्रधानमन्त्री « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

सुनकोशी मरिणमा ढिलासुस्ती भए ठेक्का तोडिन्छ : प्रधानमन्त्री



काठमाडौँ । तराईको १ लाख २२ हजार हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने भनेर सुरु गरिएको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको निर्माणमा ढिलाई गरे ठेक्का रद्द गरिने चेतावनी स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् ।

मधेशका जनताले लामो समय सिंचाईको प्रतीक्षामा जमीन बाँझो राख्न नसक्ने भन्दै उनले निर्माण कम्पनीलाई समयमै काम सक्न चेतावनी दिएका हुन् ।

निर्धारित समयभन्दा छिटो सुरुङ निर्माण भइसकेको भए पनि उक्त परियोजनाको बाँध, विद्युत् गृह, इलेक्ट्रोमेकानिक्स र प्रशारण लाइन तथा तटबन्धजस्ता कामले भने गति लिन सकेको छैन । यही कारण प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनासक्न भनेका हुन् ।

राष्ट्रिय गौरवको उक्त आयोजना आर्थिक वर्ष २०८१ असारभित्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ २०७७ सालमा यो आयोजनाको निर्माण थालिएको थियो । तर अहिलेसम्म सरकारले आयोजनाको अवधि बढाउँदै लगेर २०८६ असार भित्र सक्ने भनेको छ ।

यसअघि संशोधित लागत अनुमान ४६ अर्ब १९ करोड भनिएको थियो । त्यसमा पुनः बढाएर ४९ अर्ब ४२ करोड ३१ लाख पुर्याइएको छ ।

यसरी आयोजनाको समय पर सार्दै जाँदा एकातिर लागत बढ्दै जाने, अर्कातिर लाभान्वीत समुदायले मुख मिठ्याएर मात्रै बस्नुपर्ने भन्दै यस प्रकारको ढिलासुस्तीलाई ‘भ्रष्टाचारभन्दा पनि खतरनाक’ भनेका छन् ।

सिन्धुलीको खुर्कोट नजिकै बाँध बाँधेर १३.३० किलोमिटर सुरुङ मार्फत् हरेक सेकेण्डमा ६७ हजार लिटर पानी मरीण नदीमा खसाल्ने गरी यो परियोजना तयार पारिएको हो ।

त्यो पानीले मरीणको तीरमा निर्माण हुने ३१.०७ मेगावाट जडित क्षमताको विद्युत् गृह सञ्चालन गर्ने र त्यही पानी मरीणहुँदै बागमती नदीमाा पुर्याउने योजना छ । त्यसपछि हालको बागमती सिंचाई परियोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लमा १ लाख २२ हजार हेक्टरमा बाह्रैमहिना सिंचाई सुविधा उपलब्ध गराउने योजना छ ।

बागमती सिंचाई आयोजनाले अहिले पनि ४५ हजार ६ सय हेक्टरमा सिंचाई गरिरहेको छ । सुनकोशीको पानी खसालिसकेपछि १ लाख १६ हजार ४ सय हेक्टरमा थप सिंचाई हुने अपेक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा यो परियोजनाको निर्माण थालिएको छ ।

आइतबार जनकपुरधाममा मधेश प्रदेश सरकारको ‘निर्वाचन क्षेत्र सडक आयोजना’ अन्तर्गत निर्माण हुन लागेका ६४ सडकको एकसाथ शिलान्यास गर्दै प्रधानमन्त्रीले सुनकोशी मरिणको विषय कोट्याएका हुन् ।


प्रतिक्रिया दिनुहोस्