डेढ खर्ब नजिक जीवन बीमा व्यवसायको आकार, कुन कम्पनीले तोडे पुरानो कीर्तिमान ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

डेढ खर्ब नजिक जीवन बीमा व्यवसायको आकार, कुन कम्पनीले तोडे पुरानो कीर्तिमान ?



काठमाडौं । जीवन बीमा व्यवसाय झन्डै १५ प्रतिशत वृद्धि भएको छ । १० महिनामै जीवन बीमा व्यवसायको आकार डेढ खर्ब नजिक पुगेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि बैशाखसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने १४.८४ प्रतिशत धेरै हो । गत आवको साउनदेखि बैशाखसम्ममा पनि कम्पनीहरुले १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको १० महिनामा कम्पनीहरुले २७ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । वैदेशिक रोजगार बीमा मार्फत २ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, नविकरण मार्फत १ अर्ब ९ करोड ४३ लाख १४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल जीवन बीमा कम्पनीहरुमा १ करोड ३७ लाख २८ हजार ३४२ वटा बीमालेख सक्रिय छन् ।

जीवन बीमा व्यवसायमा नेपाल लाइफकै वर्चश्व छ । कम्पनीले १० महिनामा ३६ अर्ब ५९ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यापार १३ प्रतिशत वृद्धि भएको हो । जबकि, गत आवको बैशाख मसान्तसम्म कम्पनीले ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

व्यवसायको आधारमा दोस्रो सूचीमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीको व्यापार २०.०२ प्रतिशत वृद्धि भई १७ अर्ब २० करोड १४ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, तेस्रो सूचीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले १५ अर्ब ५७ करोड ४७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भने ९.४० प्रतिशत धेरै हो ।

चौंथो सूचीमा रहेको हिमालन लाइफले १३ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यद्यपि, गत आवको तुलनामा भने २.१० प्रतिशत मात्रै धेरै हो ।

व्यवसाय बढाउन पनि राष्ट्रिय जीवन बीमा कम्पनी शीर्ष सूचीमा देखिएको छ । कम्पनीको बीमा शुल्क आर्जन आर्जन ५०.३६ प्रतिशत वृद्धि भई ८ अर्ब ६७ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, दोस्रो सूचीमा रहेको रिलायवल नेपाल लाइफले २३.९१ प्रतिशत वृद्धि भएको छ । १० महिनामा कम्पनीले ४ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, सिटिजन लाइफको बीमा शुल्क पनि २०.८२ प्रतिशत वृद्धि भई ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ, प्रभू महालक्ष्मीको २०.०९ प्रतिशत बढेर ४ अर्ब १० करोड २१ लाख, सूर्यज्योतिको १७.२७ प्रतिशत बढेर ८ अर्ब ५३ करोड ३ लाख, आइएमई लाइफको १४.८० प्रतिशत बढेर ४ अर्ब १९ करोड ९ लाख, सानिमा रिलायन्सको १३.७१ प्रतिशत बढेर ५ अर्ब ३३ करोड ७८ लाख, एशियन लाइफको ११.७९ प्रतिशत बढेर ७ अर्ब १४ करोड ६ लाख र सन नेपाल लाइफको १०.७२ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ कायम भएको छ । यता, मेट लाइफले पनि पनि आफ्नो व्यवसायको आकार ९ प्रतिशत बढाएर ४ अर्ब ९८ करोड ७० लाख रुपैयाँ पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्