भिजिट भिसा प्रकरण : प्रतिनिधि सभा बैठक बिहीबारका लागि सर्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
यसअघि बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण ३ः१५ बजे बस्ने गरी स्थगित गरिएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बिहीबारका लागि तोकिएको छ।
संसदमा गृहमन्त्री रमेश लेखकको भिजिट भिसामा संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् । यस विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायम राख्दा सहमति नजुटेको सभामुखको सचिवालयले जनाएको छ।
बैठकको स्थगनसँगै संसदको कार्यसूची प्रभावित भएको छ । प्रतिपक्षी दलहरूको अडानका कारण संसदको सञ्चालनमा अवरोध आइरहेको छ ।