टोयोटा हाइलक्स र फोर्ड रेन्जरलाई चुनौती दिन एमजी यु ९ तयार, २०२५ को अन्त्यतिर लञ्च हुने

काठमाडौं । चर्चित अटोमोबाइल ब्राण्ड एमजीले नयाँ ब्राण्ड यु ९ सार्वजनिक गर्ने तयारी गरेको छ । फोर्ड रेन्जर र टोयोटा हाइलक्स जस्ता लोकप्रिय पिकअपहरू बजार ओगटिरहेका बेला यीनीहरुसँग प्रतिस्पर्धा गर्न एमजीले यु ९ बजारमा ल्याउने तयारी गरेको हो ।
अष्ट्रेलियन सञ्चार माध्यमका अनुसार नयाँ पिकअप ट्रक ‘एमजी यु ९’ २०२५ को अन्त्यतिर अष्ट्रेलियामा सार्वजनिक हुनेछ । हाल यसले अष्ट्रेलियन डिजाइन रूल (एडिआर) प्रमाणपत्र प्राप्त गरी स्थानीय सडकमा चल्न कानुनी स्वीकृति पाइसकेको छ।
अष्ट्रेलियामा यो एमजीको पहिलो पिकअप भ्यान हुनेछ छ। यसले सन् २०३० सम्म अष्ट्रेलियमा शिर्ष ३ अटो ब्राण्ड मध्ये एक बन्ने लक्ष्य राखेको छ ।
डिजल इन्जिनमा आधारित यो पिकअपमा २.५ लिटरको चार–सिलिन्डर टर्बो–डिजेल इन्जिन राखिएको छ, जसले १६० किलोवाट पावर उत्पादन गर्छ र ८–स्पीड अटोमेटिक ट्रान्समिशन तथा अटोमेटिक अल–ह्वील ड्राइभ सिस्टमसँग जोडिएको छ।
दुबै भेरियन्टको ब्रेक गरिएको टोइङ क्षमता ३५०० केजी छ, तर तारे मास र ग्रस व्हीकल मासमा केही फरक देखिन्छ। पहिलो भेरियन्टको ग्रस व्हीकल मास ३५०० केजी र तारे मास २३९८ केजी छ, जसबाट ११०२ केजी पेलोड क्षमता निस्किन्छ। दोस्रो भेरियन्टको ग्रस व्हीकल मास ३३२० केजी र तारे मास २४९८ केजी छ, जसले ८२२ केजी पेलोड दिन्छ।
एमजी यु ९ को लम्बाइ ५५०० मिमि, चौडाइ १९९७ मिमि र उचाइ १८६० मिमि छ। वैकल्पिक लगेज र्याक राख्दा उचाइ १८७४ मिमि पुग्नेछ। फोर्ड रेन्जर ४×४ डुअल–क्याबको लम्बाइ ५४०३ मिमि, चौडाइ १९१८ मिमि र उचाइ १८८६ मिमि छ भने यसको ह्वीलबेस ३२७० मिमि छ। यसको अर्थ एमजी यु ९ नयाँ पिकअप भ्यान तुलनात्मक रूपमा ठूलो छ। फोर्ड रेन्जरका डुअल–क्याब भेरियन्टहरूको पेलोड क्षमता ९२९ देखि १०१८ केजी सम्म छ, जुन एमजी यु ९ को प्रतिस्पर्धात्मक स्तर हो। यसको ग्राउन्ड क्लियरन्स २२७ मिमि छ, जसले असमान सडक तथा अफरोड यात्रामा सहजता दिनेछ। यसले १८ इन्चका स्ट्यान्डर्ड पाङ्ग्रा र वैकल्पिक २० इन्चका एलोय पाङ्ग्रा विकल्प दिन्छ।
एमजी यु ९ मा मसाज गर्ने ड्राइभर सिट, लचिलो सिट प्रणाली, उच्च गुणस्तरको जेबिएल साउन्ड सिस्टम र क्याबदेखि टबसम्म सजिलै हिँड्न मिल्ने ‘वाकथ्रु’ सुविधा जस्ता आधुनिक फिचरहरू रहेका छन्। यी सुविधाले यसलाई केवल एउटा पिकअप नभई प्रिमियम जीवनशैलीसंग जोडिएको सवारी साधन बनाएको छ।
एमजी यु ९ अष्ट्रेलियाली बजारमा प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ। प्रारम्भिक मूल्य अनुमान अनुसार यसको सुरुवाती मूल्य करिब ४५ हजार अष्ट्रेलियन डलर हाराहारीमा रहनेछ। उच्च स्तरका टप–भेरियन्टहरू भने ६० हजार अष्ट्रेलियन डलरभन्दा कममा उपलब्ध हुने अनुमान गरिएको छ।
यु ९ को पूर्ण इलेक्ट्रिक संस्करण तत्कालका लागि उपलब्ध हुने छैन भने कम्पनीले २०२६ मा यसको प्लग–इन हाइब्रिड (पिएचइभी) संस्करण ल्याउने योजना बनाएको छ।