शिथिलताबाट उठ्दै नेपाली बीमा बजार, व्यवसायसँगै दायरा पनि बढ्यो

काठमाडौं । नेपाली बीमा क्षेत्र आर्थिक शिथिलताबाट विस्तारै बाहिर निस्किँदै छ । कम्पनीहरुको व्यवासयको आकार र दायरा पनि बढाउँदै लगेका छन् ।
बीमा कम्पनीहरुको व्यवसाय १४.०३ प्रतिशत वृद्धि भएको छ । कम्पनीहरु व्यवसाय विस्तारमा निकै नै आक्रामक देखिएका छ्न् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत बैशाख महिनाको ‘बीमा प्रतिबिम्ब’ले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीहरुको कुल व्यवसायको आकार १ खर्ब ७६ अर्ब २१ लाख रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार जीवन बीमा व्यवसाय पनि १५.५५ प्रतिशत बढेको छ । कम्पनीहरुले १० महिनामा १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय पनि २६.९८ प्रतिशत वृद्धि भएको छ । हाल कुल सक्रिय जीवन बीमालेखको संख्या पनि ९.६८ प्रतिशत वृद्धि बढेर १ करोड ५३ लाख ६ हजार ९९३ पुगेको छ । समिक्षा अवधिमा जारी बीमालेखको संख्या भने ५६ लाख ४७ हजार ९०९ पुगेको छ ।
यता, निर्जीवन बीमा व्यवसाय पनि ८.४६ प्रतिशत बढेर ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ कायम भएको छ । निर्जीवन बीमालेख बिक्री दर पनि ७.५९ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीहरुले २६ लाख ६६ हजार ८८७ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् ।
कोभिड महामारी, आर्थिक संकट लगायतले बीमा व्यवसाय निकै प्रभावित भएको थियो । तर, पछिल्लो समयमा भने सकरात्मक रुपमा वृद्धि भइरहेको छ । आर्थिक शिथिलताकै कारण व्यवसाय बढ्नै निकै कठिन भईरहेको अवस्था थियो । तर, पछिल्लो समय भने मासिक रुपमा निरन्तर बढी रहेको छ । हाल आर्थिक गतिविधि पनि बढ्न थालेको छ, जसले बीमा व्यवसायको आँकडा पनि बढ्दै गएको छ । आर्थिक शिथिलताले कम्पनीहरुको व्यापार नै नकरात्मक असर गरिरहेको थियो । अर्थतन्त्र चलायमान नहुँदा व्यवसायको आकार पनि घट्दो थियो । बीमाको दायरा पनि खुम्चिँदो नै थियो । तर, पछिल्लो समय भने केही आर्थिक गतिविधिसँगै कम्पनीहरुको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।
प्राधिकरणका अनुसार चालु आवको १० महिनामा बीमाको दायरा ४७.३९ प्रतिशत पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा नै बीमाको दायार ३.८३ प्रतिशत वृद्धि भएको छ । जबकि, गत आवको बैशाख मसान्तसम्म आइपुग्दा बीमाको दायारामा आएको जनसंख्या ४३.५६ प्रतिशत रहेको थियो । यद्यपि,५२.६१ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर रहेको पाइएको छ ।
बीमाको दायरा क्रमिक रुपमा विस्तार भएता पनि अपेक्षाकृत वृद्धि भने कम देखिएको हो । यद्यपि, बीमाको दायरा बढाउनका लागि बीमा प्राधिकरण र बीमा कम्पनीहरुले विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । पछिलल्लो समय लघुबीमा कम्पनीहरुको स्थापना भइसकेका छन् । ग्रामिण क्षेत्रमा पनि सेवा विस्तार क्रमिक रुपमा बढीरहेको छ । उनीहरुको शाखा विस्तारले पनि बीमाको दायरा बढाउन मद्दत पुर्याएको छ । समग्रमा, बीमाको दायरा बढाउनका लागि अझै थप प्रयास र रणनीतिहरु आवश्यक छन् । बीमा कम्पनीहरुले आफ्नो सेवाको पहुँच र जनचेतना बढाउने कार्यमा जोड दिनु पर्नेछ ।