एनसेलले भन्याे- नेपालमा फाइभजी सेवा विस्तार कठिन छ « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

एनसेलले भन्याे- नेपालमा फाइभजी सेवा विस्तार कठिन छ



काठमाडाैं । एनसेलले नेपालमा फाइभजी सेवा विस्तार गर्न कठिन रहेको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उच्च कर र कमजोर बजार अवस्थाले डिजिटल भविष्यका लागि आशा बोकेको फाइभजीलाई कठिन बनाएको बताए।

सरकारले कर प्रणालीसहित नीतिगत सुधारमा ध्यान नदिँदासम्म नेपालकाे डिजिटल भविस्य अन्याैल बन्ने उनकाे भनाइ थियाे। जबसम्म उद्योग आफैँ स्वस्थ र दिगो हुँदैन, तबसम्म फाइभजी जस्तो ठुलो लगानी भित्र्याउन सकिँदैन,” उनले भने ।

देशको कुल गार्हस्थ्य उत्पादनमा​ दूरसञ्चार क्षेत्र​को योगदान ३.४ प्रतिशतबाट घटेर १.२ प्रतिशतमा झरेको भन्दै उनले दूरसञ्चार कम्पनीहरूले आफ्नो कुल आम्दानीको लगभग ६० प्रतिशत हिस्सा विभिन्न कर र शुल्कका रूपमा सरकारलाई बुझाउनुपर्ने बाध्यता रहेको गुनासाे गरे ।

नेपालमा राष्ट्रव्यापी रूपमा फाइभजी सेवा विस्तार गर्न प्रति अपरेटर करिब ४६ अर्ब नेपाली रुपैयाँ उपकरण तथा पूर्वाधारमा र करिब १८.५ अर्ब रुपैयाँ स्पेक्ट्रम र मर्मतसम्भारमा गरी कुल ६४.५ अर्ब रुपैयाँ नगद प्रवाह आवश्यक रहेको उनकाे भनाइ थियाे।

एनसेलले यो संकटबाट बाहिर निस्कन र फाइभजीको मार्गप्रशस्त गर्न केही समाधान प्रस्ताव गरेको छ । यसअन्तर्गत उसले इन्डस्ट्री वाइड सब्स्क्रिप्सन मोडेललाई प्राथमिकतामा राखेको छ ।

दूरसञ्चार क्षेत्रलाई नै निरुत्साहित गर्ने क्षेत्रगत करहरू तत्काल हटाउनुपर्ने एनसेलको माग छ । अहिले १० प्रतिशत दूरसञ्चार सेवा शुल्क, दुई प्रतिशत स्वामित्व कर, चार प्रतिशत रोयल्टी जस्ता करहरू सेवा प्रदायकले तिर्दै आएका छन् ।

कर्पोरेट करलाई अन्य उद्योगसरह ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने र फाइभजीका लागि आवश्यक स्पेक्ट्रम तथा उपकरण आयातमा लाग्ने शुल्कमा छुट दिनुपर्ने एनसेलको प्रस्ताव छ ।


प्रतिक्रिया दिनुहोस्