बीमा व्यवसायको ३८ प्रतिशत दावी भुक्तानी: कम्पनीहरुले दिए साढे ६७ अर्ब भुक्तानी, बाँकी रकम कति ?

काठमाडौं । बीमा कम्पनीहरुले कुल व्यापारको झन्डै साढे ३८ प्रतिशत बीमा दावी भुक्तानी गरेका छन् । १० महिनामै साढे ६७ अर्ब रुपैयाँ दावी भुक्तानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि बैशाख मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन् । यो कुल बीमा शुल्क आर्जनको ३८.३२ प्रतिशत हुन आउँछ । कम्पनीहरुको दावी भुक्तानी दर ४.७८ प्रतिशत बढेको देखिन्छ । गत आवको सोही अवधिमा कम्पनीहरुले ६४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ दावी भुक्तानी दिएका थिए ।
प्राधिकरणका अनुसार कुल ३ लाख ३२ हजार ८८८ वटा बीमालेखमा दावी भुक्तानी गरेका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले दावी भुक्तानी गरेको संख्या भने ३ लाख ६७ हजार ३११ वटा रहेको थियो ।
प्राधिकरणका अनुसार १० महिनामा जीवन बीमा कम्पनीहरुले कुल ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ भुक्तानी दिएका छन् । सो अवधिमा कम्पनीहरुले २ लाख १८ हजार ९५१ वटा दावीमा भुक्तानी दिएका हुन् । जबकि, गत आवको पहिलो १० महिनामा कम्पनीहरुले ५० अर्ब ६६ करोड ८९ लाख रुपैयाँ दावी भुक्तानी दिएका थिए । गत वर्ष भने दावी भुक्तानीको संख्या २ लाख ४८ हजार ९९९ वटा रहेको थियो ।
यस्तै, निर्जीवन बीमा कम्पनीले भने १८ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । यो संख्यामा भने १ लाख १३ हजार ९३७ वटा रहेको छ । गत वर्षको बैशाख मसान्तसम्ममा भने कम्पनीहरुले १३ अर्ब ७८ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख १८ हजार ३१२ वटा दावी भुक्तानी दिएका छन् ।
३४ अर्ब ७८ करोड भुक्तानी गर्न बाँकी
कुल व्यवसायको ३३ प्रतिशत हाराहारीमा दावी भुक्तानी गरे पनि करिब करिब ३५ अर्ब भने भुक्तानी गर्न बाँकी देखिएको छ ।
गत बैशाख मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी देखिएको छ । गत वर्षको तुलनामा यो ५१.७१ प्रतिशत बढी हो । गत आवको वैशाख मसान्तसम्म बीमा कम्पनीहरुले २२ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिन बाँकी थियो ।
सबैभन्दा धेरै भुक्तानी गर्न बाँकी रकम भने निर्जीवन बीमा कम्पनीमा देखिएको छ । कम्पनीहरुले कुल ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिन बाँकी छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४६.८९ प्रतिशत बढी हो । कम्पनीहरुमा कुल १ लाख ५९ हजार १०१ वटा बीमाको दाबी भुक्तानी हुन बाँकी रहेको छ । यस्तो संख्या गत वर्षको बैशाख मसान्तसम्म भने १ लाख ३ हजार ९७ वटा रहेको थियो ।
यता, जीवन बीमा कम्पनीहरुले पनि भुक्तानी गर्न बाँकी रकम ४ अर्ब ४५ करोड रुपैयाँ छ । जुन, गत वर्षको तुलनामा ९५.४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीहरुमा २ अर्ब २७ करोड रुपैयाँ बराबरको रकम भुक्तानी दिन बाँकी थियो । जीवन बीमा कम्पनीले ५३ हजार ४८१ वटा दावी भुक्तानी हुन बाँकी देखिएको छ । जबकि, गत वर्षको सोही अवधिमा यस्तो संख्या २७ हजार ११७ वटा रहेको थियो ।