नेपाली बजारमा टेल्जीका दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक
काठमाडाैं । टेल्जी स्कुटरका लागि नेपालमा आधिकारिक बिक्रेता रहेका योममाई मोटर्स प्रालिले दुई नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले अपडेट गरिएको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर ट्याङ्क नेपाली बजारमा भित्र्याएको हो।
टाइगर प्लस अपडेटसहित पहिलेकै मूल्यमा उपलब्ध गरिएको छ। कम्पनीले यसको मूल्य रु २ लाख २७ हजार तोकेको छ। त्यस्तै, कार्गो स्कुटर ट्याङ्क जेडएस को मूल्य पनि रु २ लाख २७ हजार र ट्याङ्क केएस को मूल्य रु २ लाख १७ हजार निर्धारण गरिएको छ।
टाइगर प्लसमा कम्पनीले इन्टेलिजेन्ट चार्जिङ फिचर थपेको छ, जसको सहयोगले स्कुटर ३ घण्टामा पूर्ण चार्ज हुन्छ। साथै, यसमा रिभर्स गियर समेत उपलब्ध गराइएको छ।
यो स्कुटरले १०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ भने यसको अधिकतम गति ७५ किमी प्रतिघण्टा हो। १६ डिग्रीसम्मको चढाइमा पनि सजिलै गुड्न सक्ने यो स्कुटरमा ७२ भोल्ट ३८ एम्पियर आवरको ग्राफिन ब्याट्री जडान गरिएको छ।
अन्य सुविधामा डुअल डिस्क ब्रेक, फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज, र मेन्टिनेन्स चार्जिङ सिस्टम उपलब्ध छन्।
त्यस्तै, नयाँ कार्गो स्कुटर ट्याङ्कमा पनि ३ किलोवाट पावर रेटेड मोटर र ३८ एएच ७२ भोल्टको ग्राफिन ब्याट्री दिइएको छ। यसमा सामान बोक्नका लागि अगाडि र पछाडि दुबै स्थानमा स्पेस उपलब्ध छ, जसले यो स्कुटरलाई व्यवसायिक प्रयोजनका लागि उपयोगी बनाउँछ।
हाल योम मा ई मोटर्स प्रालिले नेपाली बजारमा टेल्जी ब्रान्डका तीन मोडल बिक्री गर्दै आएको छ।
स्कुटर सार्वजनिक कार्यक्रममा टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले भने, “टाइगर हाम्रो सबैभन्दा लोकप्रिय मोडल हो, र यसलाई ग्राहकका सुझावअनुसार सुधार गरेर नयाँ संस्करण ल्याएका हौं। आगामी दिनमा यसको गुणस्तर अझै सुधार गर्दै जानेछौं।”












