निर्माण क्षेत्रमा बैंकको हातेमालो, तीन वर्षपछि कर्जा लगानीमा देखिएको बढोत्तरीले के संकेत गर्छ ?

काठमाडौं । तीन वर्षको ऋणात्मक वृद्धिदरपछि नेपाली निर्माण क्षेत्र पुनः जागृत हुँदैछ । निर्माण सामग्रीको आयातमा वृद्धि, सिमेन्ट, फलाम र पेन्टजस्ता सामग्रीको मागमा बढोत्तरी देखिँदैछ ।
सरकारी पूर्वाधारमा लगानी र निजी क्षेत्रका आयोजनाहरू पुनः सक्रिय हुँदा निर्माण गतिविधिमा आशाजनक सुधार देखिएको छ ।
सरकारले पनि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । बजेट कार्यान्वयन, वातावरणीय स्वीकृति जस्ता अड्चनहरू विस्तारै हट्दै गएकाले निर्माण क्षेत्रमा गति आएको छ । नीति सहजीकरणले निजी क्षेत्रको सहभागिता बढाइरहेको छ ।
बैंकहरूले निर्माण क्षेत्रतर्फ कर्जा प्रवाह बढाएका छन् । यसअघि आर्थिक सुस्तताले रोकिएको लगानी अब विस्तारै चलायमान बन्दैछ । ठूला भवन, सडक, पुल र जलविद्युतजस्ता आयोजनामा लगानी बढ्न थालेको छ ।
अहिले निर्माणजन्य उद्योगमा उत्पादन वृद्धि भएको छ । विकास निर्माण कार्यहरूमा तीव्रता देखिएको छ । सरकार र निजी क्षेत्रको सहकार्य र बैंकको सक्रिय कर्जा प्रवाहले पनि निर्माण क्षेत्र अब शिथिलता तोड्दै अगाडि बढ्न थालेको देखिन्छ ।
निर्माण क्षेत्रलाई चलायमान बनाउन बैंकहरु पनि निकै सक्रिय छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा बैंकहरुले यस क्षेत्रमा प्रवाह गर्ने कर्जा पनि बढेको छ ।
वाणिज्य बैंकहरुबाट निर्माण क्षेत्रमा जाने कर्जा ४.३२ प्रतिशत वृद्धि भएको छ । यसअघिका केही समय भने यस्तो कर्जा वृद्धिदर ऋणात्मक थियो । चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा बैंकहरुले कुल २ खर्ब ७ अर्ब ४ करोड २३ लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा प्रवाह गरेका छन् । पछिल्लो एक वर्षको अवधिमा नै बैंकहरुले ८ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ कर्जा बढाएका छन् । जबकि, गत आवको बैशाख मसान्तसम्म यस्तो कर्जाको आकार १ खर्ब ९८ अर्ब ४५ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।
अधिकांश बैंकहरुले निर्माण क्षेत्रमा जाने कर्जा बढाएको देखिन्छ ।
निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको देखिन्छ । एक वर्षको अवधिमा नै नबिलले यस्तो क्षेत्रमा प्रवाह हुने कर्जाको आकार १२ प्रतिशत बढाएको छ । गत बैशाख मसान्तसम्म आइपुग्दा नबिलले यस क्षेत्रमा २५ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ प्रवाह गरेको छ । जबकि, गत आवको सोही अवधिमा भने २२ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।
यता, एनआइसी एशिया बैंकको पनि २२ अर्ब ९७ करोड ९० लाख रुपैयाँ कर्जा निर्माण क्षेमा प्रवाह भएको छ । गत वर्षको तुलनामा भने यो ३५.१२ प्रतिशत बढी हो ।
कर्जा लगानी बढाउन भने एनएमबि बैंक अगाडि देखिएको छ । एक वर्षको अवधिमा बैंकले निर्माण क्षेत्रमा जाने कर्जा ४३.५० प्रतिशत बढाएर ६ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ पुयाएएको छ ।
यस्तै, एभरेष्टले पनि ३४.६३ प्रतिशत बढाएर ३ अर्ब ६७ करोड २८ लाख रुपैयाँ पुर्याएको छ । यता, सिटिजन बैंकको पनि ३३.२६ प्रतिशत बढेर १४ अर्ब ९० करोड ३० लाख, प्राइमको २५.९ प्रतिशत बढेर १३ अर्ब ३४ करोड ३६ लाख, ग्लोबल आइएमईको पनि २२.७३ प्रतिशत बढेर ९ अर्ब ४१ करोड २५ लाख, राष्ट्रिय वाणिज्य बैंकको १५.१२ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ४ लाख, माछापुच्छ्रेको १३.७३ प्रतिशत बढेर ७ अर्ब ६० करोड ९८ लाख, हिमालयन बैंकको १३.३६ प्रतिशत बढेर २ अर्ब ३७ करोड ४४ लाख, नेपाल बैंकको १२.२८ प्रतिशत बढेर ३ अर्ब ५८ करोिड ८७ लाख रुपैयाँ पुगेको छ ।
तर, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज, कुमारी, सानिमा, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा घटाएका छन् । यी बैंकहरुको यस्तो शीर्षकको कर्जा क्रमशः ४७.३१ प्रतिशत, ३६.७७ प्रतिशत, १०.३४ प्रतिशत, ४.५ प्रतिशत, ३.८९ प्रतिशत र १.१० प्रतिशत घटेको छ ।
समिक्षा अवधिमा नेपाल एसबिआईले निर्माण क्षेत्रमा ९२ करोड ३७ लाख, लक्ष्मी सनराइजले २० अर्ब ७५ करोड ७१ लाख, कुमारीले १५ अर्ब ९५ करोड, सानिमाले ७ अर्ब १५ करोड र सिद्धार्थले ५ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।