बैंकहरुमा रहेको निक्षेप पहिलो पटक ७० खर्ब नाघ्यो, विस्तारै बढ्दैछ कर्जा प्रवाह « Arthapath.com
४ असार २०८२, बुधबार

बैंकहरुमा रहेको निक्षेप पहिलो पटक ७० खर्ब नाघ्यो, विस्तारै बढ्दैछ कर्जा प्रवाह



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पहिलो पटक ७० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आइतबारसम्मको आँकडा अनुसार बैंकिङ्ग प्रणालीमा कुल ७० खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो हालसम्मकै उच्च हो । गत शनिबारसम्म पनि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा कुल ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंकहरुमा एकदिनमै ४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । गत शनिबारसम्म भने बैंकहरुसँग कुल ६२ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

अन्य वित्त कम्पनीहरुसँग पनि ७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थपिने क्रम जारी छ । दैनिक रुपमा निक्षेप बढेको बढ्यै छ । तर, कर्जाको माग भने न्यून नै छ । कर्जाको माग नढ्दा नै बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर बसेको अवस्था छ ।

७० खर्ब बढी निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले भने कुल ५५ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो एक दिनमै बैंकहरुको कर्जा प्रवाह ४ अर्ब बढेको देखिन्छ । गत शनिबारसम्म भने यस्तो तथ्याङ्क ५५ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरुले मात्रै ४९ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वित्त कम्पनीहले ६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घट्दै हो । हाल यस्तो ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

यता, बैंकहरुको अधिक तरलता रहेसँग कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ । कर्जाको माग नभएपछि बैंकहरुको सीडी रेसियो पनि ८० प्रतिशत कम बिन्दुमा छ । राष्ट्र बैंकका अनुसार सीडी रेसियो ७८.४० प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्