अवस्था जटिल रहेसम्म मध्यपूर्वका मुलुकहरूमा यात्रा नगर्न परराष्ट्र मन्त्रालय अनुरोध « Arthapath.com
५ असार २०८२, बिहीबार

अवस्था जटिल रहेसम्म मध्यपूर्वका मुलुकहरूमा यात्रा नगर्न परराष्ट्र मन्त्रालय अनुरोध



काठमाडौं। परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केहि दिनमा उत्पन्न घटनाक्रमको प्रभावमा नेपाली नागरिकलाई ती देशहरूमा यात्रा सम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकहरूको भ्रमण वा वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सतर्क रहने अपिल गरेको हो।

वर्तमान जटिल परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले इजरायल र इरानको भ्रमण, वैदेशिक रोजगारी वा अन्य कुनै प्रयोजनका लागि जाने नेपाली नागरिकलाई हालको स्थिति कायम रहने सम्म यात्रा नगर्न अनुरोध गरेको छ।

त्यसैगरी, इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकहरूको भ्रमण र वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई पनि हालको संवेदनशील परिस्थितिलाई ध्यानमा राखी यात्रा स्थगित गर्न भनिएको छ। नेपाल सरकारले इजरायल र इरानमा भइरहेको घटनाक्रमलाई नजिकबाट अनुगमन गर्दै, ती मुलुकहरूमा रहेका नेपाली नागरिकलाई सुरक्षा प्रवर्द्धनका लागि आवश्यक कदम चाल्ने सुनिश्चितता दिएको छ।

इजरायल र इरानका हवाई मार्ग हाल बन्द भएका कारण, स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकले तेस्रो मुलुक हुँदै नेपाल फर्कनुपर्ने अवस्थामा ट्रान्जिट भिसाको आवश्यकता पर्न सक्छ। यसका लागि मन्त्रालयले सहजीकरणको प्रक्रिया अघि बढाउने जनाएको छ।

मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षा प्राथमिकतामा राखी, घर वा बंकरसेल्टर बाहिर ननिस्कन आग्रह गरेको छ। यसैगरी, इजरायल सरकारले जारी गरेका सुरक्षा र आवागमनसम्बन्धी मापदण्ड र सूचनाहरू निरन्तर अद्यावधिक गरेर पालना गर्न अनुरोध गरिएको छ।

नेपाली नागरिकलाई आफ्नो सुरक्षाका लागि परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन र जारी गरिएका सूचना र जानकारी चाँडै चाँडै हेर्न आग्रह गरिएको छ। संकटको अवस्थामा उद्धार र सहायता प्रक्रियामा सहजीकरणका लागि मन्त्रालय र कन्सुलर सेवा विभागको वेबसाइटमा ुअनलाइन लिंकु राखिएको छ, जहाँ दर्ता गरेर नागरिकहरूले आफ्नो विवरण भर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्