अमेरकिाको केन्द्रीय बैंकले घटाएन ब्याजदर, फेडको स्थिर ब्याज नीतिप्रति ट्रम्प किन असन्तुष्ट ?

एजेन्सी । संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले प्रमुख ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ।
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको ब्याजदर घटाउन गरेको दवावलाई बेवास्ता गर्दै फेडले अल्पकालीन ब्याजदर ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म स्थिर राख्ने घोषणा गरेको हो ।
डिसेम्बरयता फेडले ब्याजदरमा कुनै कटौती गरेको छैन। यो निर्णय अपेक्षा अनुरूप भए पनि अमेरिकी अर्थतन्त्र कमजोर हुँदै गएको संकेतहरूमाथि नीति निर्माताहरूको मूल्याङ्कन बीच आएको हो।
अमेरिकी वाणिज्य विभागको पछिल्लो प्रतिवेदन अनुसार खुद्रा बिक्री अपेक्षा भन्दा धेरै घटेको छ। गत हप्ता श्रम विभागले सार्वजनिक गरेको बेरोजगारी भत्ताको दावी ८ महिनाको उच्च विन्दु २,४८,००० मा पुगेको थियो।
यद्यपि पछिल्लो रोजगार प्रतिवेदनले बेरोजगारी दर ४.२ प्रतिशतमा स्थिर रहेको देखाएको छ, जसले श्रम बजार विस्तारै सुस्त भए पनि अझै स्थिर रहेको संकेत गरेको छ।
“समितिको दीर्घकालीन लक्ष्य अधिकतम रोजगारी र २ प्रतिशत मुद्रास्फीतिको दर कायम गर्नु हो। आर्थिक भविष्यको अनिश्चितता केही हदसम्म कम भए पनि अझै उच्च नै छ” फेडले जारी गरेको वक्तव्यमा भनिएको छ।
फेड अध्यक्ष जेरोम पावेलले श्रम बजारले प्रमुख मुद्रास्फीति दबाब नपरेको जनाउँदै ब्याजदर स्थिर राख्नु ट्रम्प प्रशासनको आर्थिक तथा आप्रवासन नीतिले ल्याएको अनिश्चितता र उपभोक्ता मूल्यको प्रभावमा गरिएको प्रतिक्रिया भएको बताए।
पछिल्लो महिना अप्रिलको मुद्रास्फीति दर २.१ प्रतिशतले बढेको देखाइएको छ।
नीति निर्माता ट्रम्पको ट्यारिफ नीतिमा भइरहेका अनिश्चित र लगातार परिवर्तन, साथै मध्यपूर्वमा बढ्दो तनावका सम्भावनाहरू नियालिरहेका छन्।
ब्याजदर घोषणा अघि नै ट्रम्पले केही महिनादेखि फेडले दर घटाउन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका थिए।