३ वर्षको प्रतीक्षा, १७ करोडको लगानी : ‘ग्वार्को फ्लाइओभर’ आजदेखि सञ्चालनमा आउने

काठमाडौं । ललितपुरको ग्वार्को क्षेत्रमा निर्माण सम्पन्न भएको बहुप्रतीक्षित फ्लाइओभर आज शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ ।
लामो समयदेखि ट्राफिक जामको पर्याय बनेको ग्वार्को चोकमा अब सवारी सञ्चालन थप सहज र सुगम हुनेछ ।
सडक विभागका अनुसार शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा मन्त्रिपरिषद्का सदस्यहरू र विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरू पनि सहभागी हुनेछन् ।
२०७८ पुस २७ मा निर्माण थालिएको यो फ्लाइओभर दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, तय भएको अवधिभन्दा करिब डेढ वर्ष ढिलो गरी अन्ततः संरचना तयार भएको छ ।
निर्माण जिम्मा पाएको आशिष–समानान्तर–रेलिगियर जेभी कम्पनीले ‘ईपीसी’ (इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडेलअनुसार करिब १७ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।
काम ढिला हुँदा ठेकेदार कम्पनीले जरिवानासमेत भोग्नुपरेको सडक विभाग स्रोत बताउँछ । यद्यपि कम्पनीले निर्माणमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि अपनाएको दाबी गर्दै आएको छ ।
ग्वार्को फ्लाइओभर निर्माणसँगै कुपण्डोल, सानेपा, एकान्तकुना हुँदै ललितपुर दक्षिणतर्फको यात्रा अब केही हदसम्म छिटो र सरल हुने विश्वास गरिएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय ट्राफिक सुधारका लागि बनेका संरचनाहरूमा यो फ्लाइओभर पनि थपिएको हो । नयाँ फ्लाइओभर सञ्चालनमा आउनुअघि नै क्षेत्रका बासिन्दा तथा दैनिक यात्रुहरूमा उत्साह देखिएको छ । लामो समयको झन्झट र जामबाट मुक्ति पाइने आशामा उनीहरूले यसलाई सकारात्मक विकासको संकेत मानेका छन् ।