विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपाली सडकमा, के के छन् विशेषता ?

काठमाडौँ । संसारकै सबैभन्दा ठुलो विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाइडी आफ्नो लोकप्रिय मोडेल डल्फिनको नयाँ भर्सन लिएर हाजिर भएको छ ।
नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले आइतबार यो २०२५ को भर्सन सार्वजनिक गर्न लागेको हो ।
सन् २०२१ मा पहिलो पटक चीनमा सार्वजनिक भएको यो मोडेल युरोपेली मुलुकदेखि एसियाका विभिन्न देशमा समेत सफलतापूर्वक स्थापित भइसकेको छ ।
नेपालमा पनि डल्फिन निकै मन पराइएको मोडल हो । सन् २०२४ मा उक्त मोडलका १३५५ गाडी आयात भएको थियो । जुन सबैभन्दा बढी त हुँदै हो, त्यसमाथि पनि कम्प्याक्ट ईभी सेगमेण्टमा आयात भएको कुल गाडीको करिब ३७ प्रतिशत यही मोडल आएको थियो।
सन् २०२५ को पहिलो पाँच महिनामा डल्फिन आयात आँकडाका हिसाबले दोस्रो स्थानमा पुगे पनि अझै आफ्नो सेगमेन्टमा एक तिहाईभन्दा ज्यादा हिस्सेदारी उसकै छ ।

यो लोकप्रियताको ‘पारो’ घट्न नदिन कम्पनीले परिष्कृत संस्करण नेपाली सडकमा उतार्न लागेको हो । उक्त गाडी सस्तो, सुरक्षित प्रविधियुक्त, आधुनिक डिजाइन र ऊर्जा दक्षताको अनुपम संयोजन हुने दाबी कम्पनीले गरेको छ ।
नेपालमा विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षण, सरकारको कर छूट नीति तथा बढ्दो पेट्रोलियम पदार्थको मूल्यका कारण ईभीको माग तीव्र रूपमा बढ्दो छ ।
त्यसमाथि, सहरी क्षेत्रका सडक र दैनिक आवतजावतको आवश्यकतालाई मध्यनजर गर्दा बीवाइडी डल्फिन उपयुक्त र प्रतिस्पर्धात्मक मोडेल बन्न सक्ने ठानिएको छ ।
मूल्य र प्रतिस्पर्धा
साइमेक्सले अहिले नेपालमा डल्फिनको पुरानो भर्सनको मूल्य ४१ लाख १५ हजार तोकेको छ । तर नयाँ भर्सनको मूल्य ४५ लाखदेखि ५२ लाख रुपैयाँको आसपास रहने अनुमान गरिएको छ ।
यो कार विशेष गरी आफ्नो आकर्षक डिजाइन, भरपर्दो प्रविधि, किफायती मूल्य र लामो रेन्जका कारण विश्वभरको बजारमा अत्यधिक रुचाइएको छ । नेपालजस्तो पहाडी भूगोल र पेट्रोलियममा अत्यधिक निर्भर देशका लागि यो कार नयाँ सम्भावना बोकेको सवारी साधन हुने कम्पनीको विश्वास छ ।

डल्फिनमा के छ ?
बीवाइडी डल्फिनमा कम्पनी आफैँले उत्पादन गरेको ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ, यो ब्याट्रीले लिथियम–आइरन–फस्फेट प्रविधि अपनाएको छ । जुन पारम्परिक लिथियम–आयन ब्याट्रीको तुलनामा धेरै सुरक्षित मानिन्छ ।
ब्लेड ब्याट्री मूलतः आगो नलाग्ने, उच्च ताप सहन सक्ने र लामो समयसम्म टिक्ने क्षमता भएका कारण चर्चित छ ।
यस्तै यो मोडेलमा ४४ हजार ९०० र ६० हजार ४ सय युनिटका दुई प्रकारको ब्याट्री विकल्पमा उपलब्ध छ । यसमध्ये पहिलो विकल्पले करिब ३४० किलोमिटर रेन्ज दिने क्षमता राख्छ भने दोस्रोले ४२०–४२७ किलोमिटर सम्मको रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।
गाडीमा १५० किलोवाट पावर दिने इलेक्ट्रिक मोटर, डिजिटल डिस्प्ले, रोटेट हुने १२.८ इन्च टचस्क्रीन, एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन अशिष्ट, ६ वटा एयर–ब्याग र ३६०डिग्री क्यामेराजस्ता प्रविधिमैत्री एवम् सुरक्षा विशेषताहरू समेटिएका छन् ।

स्मार्ट डिजाइन र प्रविधिमैत्री फिचर
बीवाइडी डल्फिन स्की–ह्वाइट, पर्पल, कोरल पिङ्क, अर्बन ग्रे, स्यान्ड ह्वाइट गरी पाँच वटा रङ्गमा उपलब्ध छ । यसले आफ्नो डिजाइन र फिचरको हिसाबले पनि उपभोक्तालाई आकर्षित गर्ने सम्भावना उच्च छ ।
यो पाँच सिट क्षमताको कम्प्याक्ट ह्याचब्याक हो, जसको लम्बाइ ४२९० मिमी, चौडाइ १७७० मिमी र उचाइ १५७० मिमी छ ।
गाडीको इन्टेरियरमा रहेको १२.८ इन्चको रोटेट हुने टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, लेदर सिट र एम्बियन्ट लाइटिङ जस्ता आधुनिक सुविधा यसलाई ‘प्रिमियम टच’ दिन्छ ।
यसको भ्वाइस कमान्ड, ड्राइभिङ मोड सेलेक्शन, रिभर्स क्यामेरा र पार्किङ सेन्सरजस्ता एआई प्रविधिले नयाँ पुस्ताका प्रयोगकर्तालाई आकर्षित गर्न सक्ने कम्पनीको विश्वास छ ।

सुरक्षामा उच्च प्राथमिकता
सुरक्षा मानकको कुरा गर्दा बीवाइडी डल्फिनले ‘कुनै सम्झौता नगरेको’ भनेको छ । गाडीमा ६ वटा एयर ब्याग, एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, लेन किप अशिष्ट, अडाप्टिभ क्रुज कन्ट्रोल, ऑटोनोमस इमर्जेन्सी ब्रेकिङ र ३६० डिग्री क्यामेराजस्ता सुविधा दिइएको छ ।
यी सबै सुरक्षा उपायहरू गाडी चलाउँदा यात्रु र चालकलाई सुरक्षित राख्ने उद्देश्यले समावेश गरिएका हुन् । यो विशेष गरी नेपालमा बढ्दो ट्राफिक, सङ्कुचित सडक र असुरक्षित मोडहरूलाई ध्यानमा राख्दा अत्यन्त आवश्यक पक्ष हो ।

घरमै चार्ज गर्न मिल्ने
बीवाइडी डल्फिनलाई एसी चार्जर र डिसी फास्ट चार्जर दुवै प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एसी चार्जिङ ७ किलोवाटको गतिको हो भने डिसी फास्ट चार्जिङ ६०–८० किलोवाटको छ, जसले गाडीलाई १०% देखि ८०% सम्म मात्र ३० मिनेटभित्रै चार्ज गर्न सक्छ ।
नेपालमा चार्जिङ इन्फ्रास्ट्रक्चर विस्तार हुँदै गर्दा यस्तो कारले घरमै चार्ज गर्ने सम्भावना पनि उपयुक्त बनाएको छ । बीवाइडीको अफिसियल डिलरमार्फत सँगै वाल–चार्जरको सुविधा पनि उपलब्ध गराइने सम्भावना छ ।
सहरी सवारीका लागि उपयुक्त साइज र सफा ऊर्जा उपयोगको हिसाबले बीवाईडी डल्फिन नेपाली बजारमा प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ ।
किफायती मूल्य, आकर्षक डिजाइन, भरपर्दो ब्याट्री प्रविधि र आधुनिक फिचर्सले यो कार युवा तथा इको–फ्रेन्डली सोच राख्ने उपभोक्तामाझ लोकप्रिय हुने अनुमान छ ।