बिपी राजमार्गमा १५ दिन राति सवारी साधन चलाउन रोक

काठमाडाैं । काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा राति सवारी साधन सञ्चालनमा १५ दिनका लागि रोक लगाउने निर्णय गरेको छ।
शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडीबाहेक अन्य सबै सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड विशेष रूपमा जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो। उनका अनुसार काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङमै रोक्ने र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोक्ने व्यवस्था गरिनेछ।
‘बर्खाको पानीले राजमार्गका विभिन्न भागमा क्षति पुर्याएको र यात्रु तथा चालकहरूको सुरक्षामा खतरा देखिएकाले यस्तो निर्णय लिएको हो,’ प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। उनले निर्णय तत्काल कार्यान्वयनमा ल्याइने पनि बताए।
यो निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको जनाइएको छ। यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन्।