दाउन्ने-दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध « Arthapath.com
९ असार २०८२, सोमबार

दाउन्ने-दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध



काठमाडाैं । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीवास क्षेत्र हुँदै सञ्चालन हुँदै आएको वैकल्पिक मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको एक पुल भत्किएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गरिएको थियो। तर, अविरल वर्षासँगै डाइभर्सन समेत बगाएपछि अर्को वैकल्पिक मार्ग प्रयोग गरिंदै आएको थियो।

यद्यपि, आज बिहानदेखि त्यो मार्गसमेत पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा आएको बाढीका कारण वैकल्पिक मार्ग पनि प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको हो। अहिले दाउन्ने–दुम्कीवास सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा ठप्प छ।

लगातारको वर्षाका कारण विनयीखोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि साना तथा मध्यम (१२ चक्केसम्मका) सवारीहरूलाई वैकल्पिक भित्री मार्ग – होङ्सी गेट, सर्दी, र ज्यामिरे राजमार्ग हुँदै पार गराइँदै आएको थियो। तर त्यो मार्गसमेत अवरुद्ध भएपछि पूर्व–पश्चिम यात्राका लागि सबै खाले यातायात हाल स्थगित गरिएको ढकालले बताए।

अस्थायी संरचनामाथि निर्भरता, र वर्षासँगै खोलानदीमा आएको तीव्र बहावका कारण यात्रुहरू समस्यामा परेका छन्।


प्रतिक्रिया दिनुहोस्