सांग्रिला बैंकका तीन संस्थापक शेयरधनी बाहिरिँदै, १ लाख १५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका तीनजना संस्थापक शेयरधनीले शेयर बिक्री गर्दै बैंकबाट बाहिरिन लागेका छन्।
बैंकका संस्थापक ओसिन बतास, विश्व प्रकाश गुरुङ (दुबै कास्की) र बलराम श्रेष्ठ (काठमाडौं) ले आ-आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा राख्ने निर्णय गरेका हुन्।
ओसिन बतास र विश्व प्रकाश गुरुङले प्रत्येकले २५, हजार ७५९ कित्ता, भने बलराम श्रेष्ठले ६४,००० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।
तीनै जनाले शेयर बिक्री गर्न भन्दै निवेदन दिएपछि, सञ्चालक समितिको विभिन्न बैठकमा प्रक्रिया पूरा गरी शेयर बिक्री अघि बढाउने निर्णय गरिएको बैंकले जनाएको छ।
हाल यी शेयरहरूमा केवल सांग्रिला बैंकका विद्यमान संस्थापक शेयरधनीहरू ले मात्र आवेदन दिन सक्नेछन्।
इच्छुक शेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।