गभर्नर पौडेलको नाममा करोडौंको सेयर : दुई ठाउँमा जग्गा, सुन–हिरासहित कति छ कुल सम्पत्ति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सार्वजनिक विवरणअनुसार गभर्नर पौडेलले आफूसँग रहेको सम्पत्तिमा करोडौँ रुपैयाँ बराबरका सेयर, बहुमूल्य धातुका गहना, घर–जग्गा र विभिन्न बैंक खातामा रहेको नगद मौज्दात उल्लेख गरेका छन् ।
हाल उनको हाल सात कम्पनीमा सेयर रहेको छ । जसको हालको मूल्यांकन अनुसार कुल सेयर सम्पत्ति १४ करोड ६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसमध्ये सबैभन्दा धेरै सानिमा बैंकमा छ । सानिमा बैंकको प्रवर्द्धकको रुपमा २ लाख ४४ हजार १७६ कित्ता सेयर छ । यसको मूल्य मूल्य २ करोड ४४ लाख १७ हजार ६०० रुपैयाँ छ ।
यस्तै, ऊर्जा र जलविद्युत् क्षेत्रमा समेत उनको लगानी देखिन्छ । सानिमा माइ हाइड्रोपावरमा सामान्य सेयरका रूपमा ९२ हजार ५७९ कित्ता छ । सो कम्पनीमा पौडेलको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको सेयर छ ।
यता, सानिमा मिडल तमोर हाइड्रोपावरमा पनि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८८ हजार कित्ता संस्थापक सेयर छ ।
गभर्नर पौडेल ग्लोबेको प्रालिमा पनि सक्रिय देखिएका छन्, जहाँ उनको नाममा १ लाख ८६ हजार ८३४ कित्ता संस्थापक सेयर । जसको मूल्य ९३ लाख ४१ हजार ७०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, संयुक्त ऊर्जा हाइड्रोपावर चितवनमा ५ लाख कित्ता संस्थापक सेयरमार्फत ५ करोड रुपैयाँ बराबरको लगानी उल्लेख गरिएको छ ।
गभर्नर पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा पनि ग्लोबेको प्रालिमा ७५ हजार कित्ता सेयर छ । यसको मूल्य ३७ लाख ५० हजार रुपैयाँ पर्छ । सम्पत्ति विवरणमा गभर्नर पत्नी शर्माको नाममा दुई स्थानमा जग्गा रहेको उल्लेख छ । ललितपुरको सैंबुमा २७९५ वर्गफिट र नवलपरासीको गैंडाकोटमा २५०० वर्गफिटको जग्गा छ । ललितपुरको घर तथा जग्गा खरिद मूल्य १ करोड ५५ लाख र गैंडाकोटको ६० लाख रुपैयाँ उल्लेख गरिएको छ ।
यस्तै, ४५ तोला सुनका गरगहना र १५ लाख रुपैयाँ बराबरका हिराका गहनासमेत रहेको जनाइएको विवरणमा उल्लेख छ ।
गभर्नर पौडेलले विभिन्न बैंक खातामा समेत नगद मौज्दात राखेको विवरण दिएका छन् । सानिमा बैंकमा उनको व्यक्तिगत खातामा १३ लाख २३ हजार १९२ रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार २४४ रुपैयाँ रहेको छ । सानिमा बैंकमै अमेरिकी डलरमा ६६.७६ डलर रहेको उल्लेख छ ।
गभर्नर पत्नी शर्माको नाममा सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ र ४४४६.५७ अमेरिकी डलर रहेको छ । यता, प्रभु बैंकमा ४ लाख ७३ हजार ८२२ रुपैयाँ मौज्दात देखिएको छ ।
यस्तै, पत्नी शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको उल्लेख छ । जुन, पुरानो गाडी बिक्री र स्वआर्जन मार्फत आर्जन गरेको उल्लेख छ ।