स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्रीले स्पेनमा १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको र स्पेनस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित रहेको जानकारी दिएका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन्। सो अवसरमा नेपाल–स्पेन सम्बन्ध विस्तार तथा आपसी सहयोगका विषयमा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीले स्पेन भ्रमणको क्रममा त्यहाँको नेपाली समुदायसँग भेटघाट तथा स्पेनका उद्योगी–व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेकाे छ।
नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। तर, सन् २०१८ मा मात्र स्पेनमा नेपालले आवासीय दूतावास स्थापना गरेको हो।
हाल नेपालमा स्पेनको दूतावास नभएकाले दिल्लीस्थित स्पेन दूतावासले नेपाल सम्बन्धी काम सम्हाल्दै आएको छ। हाल स्पेनमा करिब २० हजार नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको अनुमान छ।