एससीओ ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको निङ्पोमा सुरु, नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर « Arthapath.com
१२ असार २०८२, बिहीबार

एससीओ ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको निङ्पोमा सुरु, नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर



निङ्बो (चीन) । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् ।

चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा ‘इन्टरग्रेट इनोभेसन फोर एन इनर्जी फ्यूचर’भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन ( एससिओ) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवद्र्धन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।

ऊर्जा अब व्यापारको विषय मात्र नभई दिगो विकास र साझा समृद्धिको आधार बन्न पुगेको भन्दै उनले एससिओ क्षेत्रलाई साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे ।

नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै मन्त्री खड्काले भने,‘नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा १५ हजार मेगावाट निर्यात गरिनेछ ।’

हाल नेपालमा ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत उत्पादन भइसकेको र सरकारको योजना निकट भविष्यमै यो दोब्बर बनाउने रहेको स्पष्ट परे ।

भारतसँग विद्युत व्यापार सुरु भइसकेको, भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत निर्यात गरिएको र यसलाई त्रिपक्षीय ऊर्जा सहकार्यको ऐतिहासिक उपलब्धिको रूपमा लिनुपर्ने बताए ।

एससिओ क्षेत्रमा अवस्थित विशाल जनसंख्या, ऊर्जा स्रोत र सम्भावनालाई दृष्टिगत गर्दै उहाँले नवप्रवर्तन, लगानी प्रवद्र्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय संरचना निर्माण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउनु अपरिहार्य रहेको बताए ।

नेपाल एससिओको संवाद साझेदार राष्ट्रको रूपमा ऊर्जा क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले भने,‘ऊर्जा क्षेत्र समावेशी, दिगो र सहकार्यमा आधारित हुनुपर्छ, र नेपाल यस यात्रामा अग्रसर छ ।’

बैठकमा एससिओ सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू, उच्च प्रतिनिधिहरू तथा प्राविधिक विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकले क्षेत्रीय ऊर्जा सहकार्य, प्रविधि, पूर्वाधार तथा व्यापारको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्