नेपाल म्याङ्गो फेस्टमा ९००० किलो आँप बिक्री

काठमाडाैं । नेपाल म्याङ्गो फेस्ट– २०२५ सम्पन्न भएको छ। नेपाली आँपको बजारीकरण र प्रवर्द्धनका लागि गत शुक्रबारदेखि आयोजना गरिएको आँप महोत्सव आइतबार सम्पन्न भउकाे हाे ।
तीन दिने आँप महोत्सव आठ हजारभन्दा बढीले अवलोकन गरे भने ९ हजार किलो बढी आँप बिक्री भएको छ।
महोत्सवमा २० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शन गरिएका थिए, जसमा विश्वकै महँगो मानिने जापानी मियाकाजी आँप पनि समावेश थियो।
प्रदर्शित आँपका प्रजातिका बिरुवा सर्लाहीको ट्रपिकल होर्टिकल्चर सेन्टर, नवपुरमा उपलब्ध रहेको आयोजकले जनाएको छ।
कार्यक्रम काठमाडौं अर्गानिक्स, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिङ्सको सहकार्यमा लाजिम्पाट, स्वयम्भू र झम्सिखेलस्थित विभिन्न क्याफे र रेस्टुरेन्टहरूमा आयोजना गरिएको थियो।
महोत्सवको उद्देश्य नेपाली आँपको पहिचान विस्तार गर्नु, स्थानीय कृषकहरूको मूल्य श्रृंखला बलियो बनाउनु र उपभोक्तालाई विषादीरहित प्राकृतिक उत्पादनमा जोड दिनु रहेको आयोजकले जनाएका छन्।