जीवन बीमा बजार: दुई कम्पनीको कब्जामा नयाँ व्यवसाय, तीन वटा घट्यो, कसको व्यापार कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

जीवन बीमा बजार: दुई कम्पनीको कब्जामा नयाँ व्यवसाय, तीन वटा घट्यो, कसको व्यापार कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा निरन्तर सुधार देखिएको छ । पछिल्लो समय नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन दोहोरो अंकमा वृद्धि भएको हो ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने १३.७० प्रतिशत धेरै हो । गत आवको ११ महिनामा पनि कम्पनीहरुले २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका थिए ।

कम्पनीहरुको कुल व्यापारमा नयाँ व्यवसायको हिस्सा २०.३४ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीहरुल कुल १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नयाँ व्यवसाय बढाउन कम्पनीहरु आक्रामक ढंगले तातिएका छन् । अधिकांश कम्पनीहरुको नयाँ व्यवसाय बढेको देखिन्छ ।

नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ नै अगाडि छ । ११ महिनामै कम्पनीले ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा भने २६.५० प्रतिशत धेरै हो । कुल नयाँ व्यवसायमा नेपालको लाइफको हिस्सा भने २५.२४ प्रतिशत हुन आउँछ ।

नयाँ व्यवसायमा नेशनल लाइफ दोस्रो पोजिशनमा छ । कम्पनीले ११ महिनामा ४ अर्ब ७० करोड ३५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा भने १३.०२ प्रतिशत बढी हो । नयाँ व्यवसायमा नेशनल लाइफको हिस्सा १५ प्रतिशत छ ।

नयाँ व्यसायमा नेपाल लाइफ र नेशनल लाइफको बजार हिस्सा सर्वाधिक छ । प्रथम बीमा शुल्क आर्जन यी दुई कम्पनीको कब्जामा देखिन्छ ।

यस्तै, एआइसी नेपालले पनि २ अर्ब ४१ करोड ६ लाख, सूर्यज्योतिले २ अर्ब ३५ करोड ६६ लाख, हिमालयन लाइफले २ अर्ब १६ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

अधिकांश कम्पनीको नयाँ व्यवसाय वृद्धि भएता पनि तीन वटाको भने घटेको देखिन्छ । समिक्षा अवधिमा सन नेपाल लाइफको सर्वाधिक ३०.३३ प्रतिशत घटेको छ । कम्पनीले ११ महिनामा ९२ करोड १७ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै आइएमई लाइफको नयाँ व्यवसाय पनि ४.०६ प्रतिशत घटेर १ अर्ब २६ करोड ४३ लाख र सानिमा रिलयान्स लाइफको २ प्रतिशत घटेर १ अर्ब ४९ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।

तर, नयाँ व्यवसाय बढाउन भने राष्ट्रिय जीवन बीमा कम्पनी शीर्ष सूचीमा छ । कम्पनीले प्रथम बीमा शुल्क आर्जन ९०.५० प्रतिशत बढाएर ९५करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।

यता, प्रभू महालक्ष्मी लाइफको ५०.६८ प्रतिशत बढेर १ अर्ब २४ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा सिजिटनले १ अर्ब ७३ करोड २३ लाख, एशियन लाइफले १ अर्ब ५८ करोड ९७ लाख, रिलायवल नेपाल लाइफले १ अर्ब ३३ करोड ४० लाख र मेट लाइफले १ अर्ब २५ करोड ८३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्