गभर्नर पौडेल बीआईएसको ९५ औं वार्षिक बैठकमा सहभागी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेश्नल सेटलमेन्ट्स (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन्। उक्त बैठक सन् २०२५ जुन २७ देखि २९ सम्म सम्पन्न भएको हो।
सन् १९३० मा स्थापना भएको बीआईएस हाल ६३ देशका केन्द्रीय बैंकहरूको सदस्यतामा सञ्चालनमा रहेको एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो। यस संस्थाले विश्वव्यापी मौद्रिक तथा वित्तीय स्थायित्व कायम राख्ने, केन्द्रीय बैंकहरूबीच सहकार्य अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई सबल बनाउने जस्ता प्रमुख उद्देश्य लिएर काम गर्दै आएको छ।
बीआईएसको यो बैठकमा विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरू तथा वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। गभर्नर डा। पौडेलले बैठकका क्रममा “सीपीएमआई इमर्जिङ मार्केट एण्ड डेभलपिङ इकोनोमिक्सस् ब्रिजिङ ग्याप्स– फाइनान्सियल इन्क्लुजन, रिजनल इन्टिग्रेशन एण्ड क्रस बोर्डर पेमेन्ट” र “बीआईएस इनोभेसन हब सेमिनारस् एआई एण्ड सेफ्टी” जस्ता विषयवस्तुमा केन्द्रित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनुभयो।
सो कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा देखिएका चुनौतीहरू, केन्द्रीय बैंकहरूले कृत्रिम बौद्धिकताको ९एआई० प्रयोग गर्दा आउन सक्ने जोखिमहरू र ती जोखिमलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने नीतिहरूबारे व्यापक छलफल भएको थियो। यस्तै, डा पौडेलले “रेगुलेशन एण्ड कम्प्याटेटिभनेस” विषयमा समेत सहभागिता जनाएका थिए।
बैठकका अवसरमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले संस्था अन्तर्गतको वार्षिक प्रतिवेदन सार्वजनिक गरे भने प्राध्यापक मौरिस ओब्स्टफेल्डले “द इन्टरनेश्नल मोनेटरी सिस्टमस् अ फोर्क इन द रोड” शीर्षकमा कार्यपत्र प्रस्तुत गरे।
वार्षिक बैठककै सन्दर्भमा गभर्नर डा पौडेलले बीआईएसका महाप्रबन्धक कार्सटेन्ससँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यस्तै, बीआईएसको बैंकिङ विभाग प्रमुख लुइस बेङ्गोचा र अन्य उच्च अधिकारीहरूसँग पनि उनको भेटघाट भएको थियो। ती भेटहरूमा विदेशी विनिमय सञ्चितिको लगानी विविधीकरण, सुन खरिद, र नयाँ अन्तर्राष्ट्रिय उपकरणहरूमा लगानीको सम्भाव्यता तथा सहयोगका विषयमा छलफल भएको थियो।
यस्तै गभर्नर डा पौडेलले भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँग पनि भेटघाट गरे। सो भेटमा दुई देशका केन्द्रीय बैंकहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउने, भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने, जनशक्ति विकास तथा द्विपक्षीय सहकार्यका विविध आयाममा निरन्तर समन्वय गरिने विषयमा सहमति भएको थियो।
त्यस्तै, पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङसेङसँग भएको भेटमा पनि दुई देशबीचको वित्तीय सहकार्य, बैंकिङ कारोबार र भुक्तानी प्रणालीलाई सुदृढ बनाउनका लागि थप सहयोग गर्ने विषयमा छलफल भएको थियो।
उक्त कार्यक्रममा गभर्नर डा पौडेलसँगै बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नर कार्यालयका निर्देशक तथा सञ्चालक समितिका सचिव शरण कुमार अधिकारीको पनि सहभागिता रहेको थियो।
यस किसिमको अन्तर्राष्ट्रिय बैठकमा नेपालको सक्रिय सहभागिताले राष्ट्र बैंकको भूमिका अन्तर्राष्ट्रिय क्षेत्रमा अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।