गाजामा दुई महिना युद्धविराम गर्न इजरायल सहमत « Arthapath.com
१९ असार २०८२, बिहीबार

गाजामा दुई महिना युद्धविराम गर्न इजरायल सहमत



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन्– गाजामा ६० दिने युद्धविराम गर्न ‘आवश्यक शर्तहरू’बारे इजरेलले सहमति जनाएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उक्त प्रस्तावित सहमतिका समयमा ‘युद्ध समाप्त गर्न हामी सबै पक्षसँग काम गर्ने छौँ’ भनेर लेखेका छन्।

तर उनले ती शर्तहरू के के छन् भनेर खुलाएका छैनन्।

‘शान्ति कायम गर्न कठिन काम गरिरहेका कतारी तथा इजिप्सियनहरूले अन्तिम प्रस्ताव दिने छन्। मेरो आशा छ….हमासले यो सहमति स्वीकार्ने छ किनभने अवस्था सुध्रनेवाला छैन – झन् खराब हुने छ।’

२०८० असोज २० मा हमासले इजरेलमा हमला गरेर १२ सय मानिसको ज्यान लिएपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको हो।

उक्त कारबाहीमा हालसम्म गाजामा ५६,६४७ जनाको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर हमासले युद्धविरामका शर्तहरू स्वीकार्ला भनेर अहिले नै प्रस्ट भइसकेको छैन।

आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू ‘दह्रो’ रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्।

मङ्गलवार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताए।

‘उनी चाहन्छन्। म भन्न सक्छु उनी चाहन्छन्। मलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ,’ उनले भने।

गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासहरू तेज पारेको तर इजरेलसँगको कुराकानी अड्किरहेको बताएका थिए।

–बीबीसी नेपालीबाट ।


प्रतिक्रिया दिनुहोस्