५ ठूला जलविद्युत् आयोजना निर्माणका लागि पुनः प्रस्ताव माग

काठमाडौं । पाँच वटा जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास विभागले पुनः प्रस्ताव माग गरेको छ ।
यसअघि आशयपत्र आह्वान गर्दा पर्याप्त आवेदन नपरेका आयोजनाहरूको सन्दर्भमा विभागले आज असार १८ गते पुनः प्रस्तावको लागि सूचना जारी गरेको हो ।
पुनः प्रस्ताव माग गरिएका आयोजनाहरूमा ५०.५ मेगावाट क्षमताको बेनी कालिगण्डकी, ६१.०२ मेगावाटको हुम्ला कर्णाली, २१.४ मेगावाटको इन्खु खोला, ६५ मेगावाटको कालिगण्डकी अपर र ४९.५ मेगावाटको लोती कर्णाली जलविद्युत आयोजना समावेश छन्। यी आयोजना बुट मोडलमा निर्माण गरिने छन् ।
यस योजनामा सहभागी हुन इच्छुक नेपाली कम्पनीहरू तथा तिनको संयुक्त उद्यमले आवेदन दिन सक्नेछन्। प्रस्ताव पेश गर्ने अन्तिम मिति साउन २ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन १ बजे आशयपत्र खोलिने विभागले जनाएको छ ।
प्राप्त आशयपत्रहरूको आधारमा विभागले सहभागी कम्पनीहरूको प्रारम्भिक छनोट (सर्टलिस्ट) गर्नेछ । छनोटमा परेका कम्पनीहरूले त्यसपश्चात प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्नेछ ।
प्राविधिक प्रस्तावको मूल्यांकन गर्दा प्राविधिक क्षमतालाई अधिकतम ४५, वित्तीय पक्षलाई ३५ र कम्पनीको अनुभवलाई २० अंक प्रदान गरिनेछ । प्राविधिक प्रस्तावमा कम्तीमा ६० अंक ल्याउने कम्पनीहरू मात्र आर्थिक प्रस्ताव मूल्यांकन चरणमा पुग्नेछन् ।
आर्थिक प्रस्ताव पनि सफल भएको कम्पनीलाई सम्बन्धित आयोजना निर्माण गर्ने अनुमति दिइनेछ । विभागले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा सम्बन्धित नियमावलीअनुसार कम्पनीको छनोट प्रक्रिया अघि बढाउने जनाएको छ ।