नेपाल आयल निगमद्धारा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण

काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक सतप्रतिशत स्वदेशी सीप, श्रम, निर्माण व्यवसायी र पूँजी प्रयोग गरेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक हवाइ इन्धन डिपो निर्माण सम्पन्न गरेको छ।
सरकार र नागरिक उड्डयन प्राधिकरणले पोखरामा बढ्दो आन्तरिक तथा बाह्य पर्यटक चापलाई ध्यानमा राखी आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहेका बेला यो डिपो निर्माणले हवाइ सेवा आपूर्ति क्षमतामा ऐतिहासिक उपलब्धि थपेको छ।
स्वदेशी स्रोत, स्वदेशी नेतृत्व
२०७९ पुस १५ मा नागरिक उड्डयन प्राधिकरणसँग ९,२१५ वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएपछि, २०८० साउन १ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा निर्माणको शिलान्यास गरिएको थियो। त्यसयता निरन्तर र तीव्र गतिमा निर्माण कार्य सम्पन्न गरिएको हो।
नयाँ डिपोमा १,२०० किलो लिटर क्षमताका तीन वटा भर्टिकल स्टोरेज ट्यांक निर्माण गरिएको छ, जसले कुल ३,६०० किलो लिटर हवाइ इन्धन भण्डारण गर्न सक्ने क्षमता राख्दछ। हरेक ट्यांकको उचाइ र व्यास १२ मिटर रहेको छ।
सुरक्षाका लागि छुट्टै १,२०० किलो लिटर पानी ट्यांकी र फोम स्टोरेज ट्यांक निर्माण गरी फायर फाइटिङ प्रणाली जडान गरिएको छ। यसमा २३० हर्सपावर क्षमताका दुईवटा डिजल पम्प, १५ हर्सपावरको एउटा जक्की पम्प र ८ इन्चको पाइपमार्फत आपत्कालीन अवस्थामा शीघ्र प्रतिक्रिया दिन सकिने व्यवस्था गरिएको छ।
प्राविधिक मापदण्ड र गुणस्तर
भण्डारण गृहमा १ माइक्रोन र ५ माइक्रोन क्षमताका फिल्टर जडान गरिएको छ, जसले हवाइ इन्धनको गुणस्तर सुनिश्चित गर्छ। सम्पूर्ण प्रणाली अमेरिकी पेट्रोलियम संस्थानका अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ।
परियोजनाको लागत मूल्य समायोजन र भेरिएसनपछि ७५ करोड रुपैयाँ (भ्याट बाहेक) मा निर्माण कार्य सम्पन्न गरिएको हो ।
नेपाल आयल निगमले स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी तथा आन्तरिक स्रोतबाट सम्पूर्ण रूपमा राष्ट्रिय क्षमतामा आधारित आधुनिक हवाइ इन्धन डिपो निर्माण सम्पन्न गर्दै स्वावलम्बन र प्राविधिक आत्मनिर्भरता तर्फ एक ऐतिहासिक कदम चालेको छ।