प्रभु बैंकको नयाँ अध्यक्षमा किशोरजंग कार्की नियुक्त, सञ्चालकमा अर्याल नियुक्त

काठमाडाैं । प्रभु बैंक लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्कीलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो।
कार्की यसअघि पब्लिक समूहको तर्फबाट सञ्चालकका रूपमा कार्यरत थिए। पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा समाप्त भएपछि अध्यक्ष पद रिक्त थियो।
कार्कीले त्रिभुवन विश्वविद्यालयबाट प्रशासनमा स्नातकोत्तर, साथै अर्थशास्त्र र नेपाली विषयमा स्नातक तहको अध्ययन गरेका छन्।
लामाे समयसम्म विभिन्न मन्त्रालय तथा विभागहरूमा कार्यसम्पादन गरेका कार्कीले लोकसेवा आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन, सूचना तथा सञ्चार मन्त्रालय, तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवका रूपमा सेवा दिएका थिए। त्यसैगरी, महानिर्देशकका रूपमा उनले निजामती राष्ट्रिय किताबखाना, आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व समेत गरेका थिए।
त्यसअघिका भूमिकामा उनले प्रमुख कर प्रशासक, उपमहानिर्देशक (भन्सार विभाग), प्रमुख भन्सार प्रशासक (त्रिभुवन विमानस्थल), उपसचिव (लोकसेवा आयोग तथा भौतिक योजना मन्त्रालय) लगायत विभिन्न जिम्मेवारीहरू सम्हालेका थिए।
त्यसैगरी, बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त छन्। उनी यसअघि एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए।