नेशनल मोडेल इङ्ग्लिस सेकेण्डरी स्कुलको एसईईमा शतप्रतिशत सफलता, उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई भव्य सम्मान « Arthapath.com
२० असार २०८२, शुक्रबार

नेशनल मोडेल इङ्ग्लिस सेकेण्डरी स्कुलको एसईईमा शतप्रतिशत सफलता, उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई भव्य सम्मान



काठमाडाैं । काठमाडौंको उत्तर क्षेत्रको अग्रणी शैक्षिक संस्था ‘नेशनल मोडेल इङ्लिश सेकेण्डरी स्कुल’ ले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत सफलता प्राप्त गर्दै विद्यालयको शैक्षिक उत्कृष्टता पुनः प्रमाणित गरेको छ।

२०७८ सालदेखि निरन्तर गुणस्तरीय शिक्षाको अभ्यास गर्दै आएको यो विद्यालयले २०८१ सालको चैत्रमा आयोजित एसईई परीक्षामा सहभागी गराएका ६३ विद्यार्थीमध्ये सबैजनालाई उत्तीर्ण गराउन सफल भएको हो।

विद्यालयका अनुसार, विद्यार्थीहरूको समग्र नतिजा उच्च स्तरको रह्यो, जसमा ३ जना विद्यार्थी सचिता न्यौपाने, दिवस धमला र सन्ध्या प्याकुरेलले पूर्ण ४ जिपिए हासिल गरे।

विद्यालयको नतिजालाई विश्लेषण गर्दा, ४९ जना विद्यार्थीले ३.६० देखि ४ जिपिए ल्याएका छन् भने २१ जना विद्यार्थीले ३.२० देखि ३.६० जिपिए ल्याएका छन्। यो तथ्यले विद्यालयमा पढाइको गुणस्तर र विद्यार्थीको मेहेनत स्पष्ट रूपमा देखाउँछ।

उत्कृष्ट नतिजाको खुसीलाई संस्थागत उत्सवमा परिणत गर्दै विद्यालयले एक विशेष सम्मान कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा विद्यालय परिसरबाट सुरु भएको पञ्चबाजासहितको भव्य र्‍यालीमा विद्यालयका विद्यार्थीहरूलाई फुलमाला र अविरले सम्मान गरिएको थियो।

विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाको सहभागितामा आयोजित यस र्‍यालीले विद्यालयको नतिजा मात्र होइन, शिक्षणप्रतिको प्रतिबद्धता र समुदायसँगको सम्बन्धलाई पनि जीवन्त रूपमा प्रस्तुत गर्‍यो। करिब १५ सयभन्दा बढी सहभागीहरू रहेको यो कार्यक्रमले सहरभरि उत्सवको माहोल बनाएको थियो। र्‍यालीपश्चात विद्यालयमा केक काट्ने कार्यक्रम समेत गरिएको थियो।

विद्यालयले केवल परीक्षा नतिजामा मात्र नभइ, शिक्षण सिकाइ प्रक्रियामा समेत निरन्तर नवप्रवर्तन गरिरहेको जनाएको छ। यसै क्रममा विद्यालयले वर्षभरि विभिन्न तहका शैक्षिक अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको छ, जसमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकको सक्रिय सहभागिता रहन्छ।

विद्यालयका प्रधानाध्यापक तथा शैक्षिक अभियन्ता डिएन अधिकारीका अनुसार, प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक सहकार्य अपरिहार्य हुन्छ। त्यसैले विद्यालयले समयसापेक्ष शिक्षण प्रविधि र नवप्रवर्तनका विधिहरूको प्रयोग गर्न आफ्ना सबै सरोकारवालालाई सशक्त बनाउँदै आएको छ।

स्थापनाकालदेखि नै उत्कृष्ट शैक्षिक पूर्वाधार, अनुभवी शिक्षकहरू र विद्यार्थीमैत्री वातावरणका कारण ‘नेशनल मोडेल स्कुल’ ले उत्तरी काठमाडौं क्षेत्रमै मात्र नभइ उपत्यकाभरि आफ्नो छुट्टै पहिचान बनाएको छ। विद्यालयले सैद्धान्तिक र व्यवहारिक ज्ञानको सन्तुलन मिलाउने, नैतिक शिक्षामा जोड दिने, र सम्पूर्ण विकासमा केन्द्रित शिक्षण पद्धति अँगाल्दै आइरहेको छ।

विद्यालयको यो सफलता न केवल एसईई परीक्षाको उपलब्धिमा सीमित छ, बरु शिक्षामा दीर्घकालीन योगदान दिन सक्ने एउटा उदाहरणीय अभ्यासको संकेत पनि हो।


प्रतिक्रिया दिनुहोस्