५ अर्ब लगानीमा कीर्तिपुरदेखि चम्पादेवीसम्म केबलकार : २ वर्षभित्र बन्ने, दैनिक ५ हजार यात्रुको क्षमता

काठमाडौं । काठमाडौं उपत्यकाभित्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिने चम्पादेवी क्षेत्रसम्म पहुँच सहज बनाउन केबलकार निर्माणको तयारी सुरु भएको छ ।
कीर्तिपुर नगरपालिकाको–४ बाट सुरु भई दक्षिणकाली नगरपालिका–१ मा सम्पन्न हुने छ । करिब २.०७५ किलोमिटर लम्बाइको केबलकार सञ्चालन गर्ने योजना चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले अघि सारेको हो ।
कुल अनुमानित लागत करिब ५ अर्ब रुपैयाँ रहनेछ भने निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना कम्पनीले अघि सारेको छ ।
कम्पनीले यस परियोजनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेको छ । प्रतिवेदन अनुसार, माथिल्लो स्टेशन कीर्तिपुर वडा नं ४ मा निर्माण हुनेछ भने तल्लो स्टेशन दक्षिणकाली–१ मा पर्नेछ ।
यो केबलकारमा कुल ३४ वटा गोन्डोला रहनेछन्, जसमा प्रत्येकमा १० यात्रु अट्ने क्षमता हुनेछ । कम्पनीले केबलकारमार्फत दैनिक ५ हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ । यात्राको एकतर्फी समय अनुमानित ६.०१ मिनेट रहेको उल्लेख गरिएको छ । परियोजनामा २ वटा टावर निर्माण गरिनेछ ।
तल्लो स्टेशन करिब ५ हजार ९७५ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ । सो क्षेत्रमा प्रवेशद्वार, मुख्य भवन, साना र ठूला सवारीसाधनका लागि पार्किङ, पानी ट्यांकी, पम्प हाउस आदि सुविधा रहनेछ । मुख्य भवनमा टिकट काउन्टर, प्रतिक्षा क्षेत्र, चढ्ने र झर्ने प्लेटफर्म, अपरेटर कक्ष, विश्राम कक्ष तथा शौचालयजस्ता संरचना रहनेछन् ।
माथिल्लो र तल्लो बेसमेन्टहरूमा प्रशासनिक कार्यालय, क्यान्टिन, भण्डारण, मेडिकल, मेकानिकल, जेनेरेटर तथा बिजुली व्यवस्थापन कक्षहरू हुनेछन् । पार्किङको लागि करिब एक हेक्टर क्षेत्रफल छुट्याइएको छ, जसमा दुईपांग्रे ४ सय र चारपांग्रे २ सय सवारी अट्नेछन् ।
यस्तै, माथिल्लो स्टेशन करिब १.८० हेक्टर क्षेत्रफलमा फैलिनेछ । यहाँ दुई तल्लाको आरसीसी भवन बन्नेछ, जसमा चढ्ने–ओर्लने क्षेत्र, टिकट काउन्टर, उपकरण सञ्चय कक्ष, पर्यटक सूचना केन्द्र, जलपान तथा अन्य सुविधा रहनेछन् ।
माथिल्लो स्टेशनमा थप रूपमा मनोरञ्जन भवनसमेत निर्माण गरिनेछ । करिब ७ हजार ५०० वर्गमिटर क्षेत्रफलमा बन्ने सो भवनमा इनडोर गेमिङ जोन, साहसिक खेल सामग्री, रेष्टुरेन्ट, सम्मेलन हल तथा भान्सा व्यवस्था हुनेछ ।
यसबाहेक, कम्पनीले मनोरञ्जन पार्कसमेत निर्माण गर्ने योजना बनाएको छ, जसमा अल्पाइन कोस्टर, रंगीन स्लाइडहरू, साहसिक डोरी कोर्स, पिङ, बाल उद्यान, विश्राम क्षेत्र, एम्फीथिएटर र जिपलाइनजस्ता आकर्षणहरू समावेश गरिनेछन् । करिब ०.४ हेक्टर क्षेत्रफलमा एक मन्दिर पनि निर्माण गरिने प्रस्तावमा उल्लेख छ ।