पुम्दिकोटमा बन्दै डेढ अर्बको लगानीमा नयाँ केबलकार, १ अर्ब २८ करोडका लागि रेटिङ

काठमाडौं । पोखराको पर्यटकीय गन्तव्य पुम्दिकोटमा अब केबलकार यात्रा पनि थपिने भएको छ । विशाल महादेवको मूर्ति, हिमालको दृश्य र तीर्थ–पर्यटनको संगमका कारण चर्चा बटुलिरहेको पुम्दिकोटमा ‘पुम्दिकोट महादेव केबलकार’ निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ ।
सन् २०२३ मा स्थापना गरिएको कम्पनीले १ अर्ब ६० करोड ४० लाख रुपैयाँको अनुमानित लागतमा केबलकार बनाउने योजना अघि सारेको छ । निर्माणका लागि अहिले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने सन् २०२६ को जुलाई महिनासम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
करीब १.१ किलोमिटर लम्बाइको यो केबलकार रुट अपेक्षाकृत छोटो भए पनि पर्यटक आवागमनलाई सहज बनाउने उद्देश्य राखिएको छ । कम्पनीले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने अपेक्षा गरेको छ ।
पुम्दिकोटमा निर्माण भएको विशाल शिवको मूर्ति तथा अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यले पछिल्लो समय पुम्दिकोट पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै आएको छ । त्यसलाई थप सहज र व्यवस्थित बनाउने लक्ष्यसहित केबलकार परियोजना अघि बढाइएको हो ।
परियोजनाको वित्तीय संरचना अनुसार, कूल लगानीमध्ये ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्वीटीमार्फत जुटाइनेछ । कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कम्पनीले १ अर्ब २८ करोड ४० लाख रुपैयाँको रेटिङ गराइसकेको छ । जसमध्ये १ अर्ब २६ करोड दीर्घकालीन र बाँकी २ करोड ४० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि हुनेछ ।
यो परियोजनामा अग्नि ग्रुपका अर्जुनप्रसाद शर्मा, चितवनको ई–ग्रुपका चन्द्रकान्त बराल, व्यवसायी राजेशबाबु श्रेष्ठसहितका लगानीकर्ताहरूको सहभागिता रहेको छ । यिनै ई–ग्रुपले नेपालमा पहिलोपटक सन् १९९८ मा मनकामना केबलकार सञ्चालनमा ल्याएको हो ।
यसअघि सारङकोटमा पनि सफल केबलकार सेवा सञ्चालनमा ल्याइसकेको कम्पनीले पुम्दिकोटमा बढ्दो पर्यटकीय चापलाई व्यवस्थापन गर्न यो परियोजना अघि सारेको हो । स्थानीय पर्यटन प्रवद्र्धनसँगै धार्मिक पर्यटनलाई समेत सशक्त बनाउने लक्ष्य लिएको कम्पनीले पुम्दिकोटलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरेको छ ।