बोइलर–लेयर्समा निर्भर व्यापार, ‘नेपाल वेलहोप’ को एकै वर्ष झन्डै ५ अर्बको कारोबार « Arthapath.com
२१ असार २०८२, शनिबार

बोइलर–लेयर्समा निर्भर व्यापार, ‘नेपाल वेलहोप’ को एकै वर्ष झन्डै ५ अर्बको कारोबार



काठमाडौं । चीन र नेपालको संयुक्त लगानीमा स्थापना भएको नेपाल वेलहोप एग्री टेक प्रालिको व्यापारमा केही गिरावट देखिएको छ ।

कम्पनीले एक वर्षको अवधिमा करिब ५ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । वैद्य ग्रुप र चिनियाँ वेलहोप ग्रुपको साझेदारीमा सञ्चालित यस कम्पनीले गत वर्ष सन् २०२४ कुल ४ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

तर, पछिल्ला तीन वर्षको आँकडा हेर्दा कम्पनीको व्यापार क्रमशः ओरालो लागिरहेको देखिन्छ । सन् २०२३ मा ५ अर्ब २२ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा भने ५ अर्ब ६५ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशत कारोबार घटेको छ ।

कम्पनीका अनुसार दानाको कम बिक्रीले कारोबारमा प्रत्यक्ष असर पारेको हो । सन् २०२४ मा मात्र ७४ हजार ४३६ मेट्रिक टन दाना बिक्री गरिएको छ । सोही वर्ष कम्पनीले कुल कारोबारमा ०.३० प्रतिशत मात्र खुद नाफा कमाउन सकेको छ, जुन सन् २०२३ को २.६० प्रतिशत खुद नाफाको तुलनामा कमी हो ।

यद्यपि, चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ३ अर्ब ७६ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ, जसले आउँदो अवधिका लागि व्यापार स्थिर हुने अपेक्षा गरिएको छ ।

उत्पादन, ब्राण्ड र बजार सञ्जाल

नेपाल वेलहोपले विशेषगरी कुखुरा, माछा, बंगुर, गिरीराज कुखुरा र बाख्राको लागि पशु आहार उत्पादन गर्दै आएको छ ।

कम्पनीले ‘वैद्य पेलेट’ ब्राण्ड नाममा ३० देखि ५० किलोसम्मको दाना उत्पादन गरी देशभरका ६ सय डिलरमार्फत वितरण गर्दै आएको छ ।

कम्पनीको कुल कारोबारको ठूलो हिस्सा बोइलर र लेयर्स कुखुराको दानाबाट हुने गर्छ । सन् २०२४ मा यिनै दुई दानाबाट ८७ प्रतिशत व्यापार भएको देखिएको छ, जबकि सन् २०२३ मा उक्त प्रतिशत ९१ थियो ।

दानाको उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरू मकै, धान, दाल, सोया केक, आयल केक र तोरी लगायत भारत र चीनबाट आयात गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन र अल्पकालीन दुवै प्रकारका कर्जाका लागि कुल ३ अर्ब २८ करोड ५२ लाख रुपैयाँ बराबरको रेटिङ गराइसकेको छ । यसमध्ये ९८ करोड ५२ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ३० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि हो ।

सन् २००५ मा स्थापना भएको यो कम्पनी हाल सुरेश वैद्यको अध्यक्षतामा सञ्चालित छ । वैद्य ग्रुप र वेलहोप ग्रुपको बराबरी हिस्सेदारी रहेको यस कम्पनीले नेपाली पशुपालन क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय दाना आपूर्ति गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्