रसुवाको बाढी : उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन डा. महतको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको बताएका छन् ।
डा. महतका अनुसार, बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्रीहरू र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीहरू समेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको उनले उल्लेख गरेका छन् ।
‘मानवीय क्षतिको आशंका र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइसकेको छैन,’ उनले लेखेका छन्, ‘सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत कार्यलाई उच्चतम प्राथमिकता दिनुपर्छ।’
डा. महतले उद्धार कार्य अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै संकटको घडीमा सरकारको सक्रियता निर्णायक हुने बताएका छन् ।
साथै, उनले यो संकटको बेला प्रभावित परिवारहरू र सम्पूर्ण रसुवा क्षेत्रका नागरिकप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । ‘हामी सदैव तपाईंहरूको साथमा छौं’, उनले लेखेका छन्, ‘हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौं भन्ने दृढ विश्वास लिएको छु।’