रसुवामा बाढी : ठूलो मात्रामा सवारी बगाएको अनुमान, क्षतिको विवरण संकलन जारी

काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा आएको बाढीले ठूलो मात्रामा सवारीसाधन बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीका कारण सयभन्दा बढी गाडी बगेका छन्, जसमा अधिकांश मालवाहक सवारी थिए ।
बाढीले मुख्यतः मालवाहक गाडीहरूमा क्षति पुर्याएको नेपाल इन्टरमोडलर विकास समितिले जनाएको छ ।
यार्डमा पार्किङ गरिएको २३० मध्ये केही गाडी राति नै जोखिम हटाउने उद्देश्यले सुरक्षित स्थानमा सारिएको थियो । विद्युतीय सवारीहरू भने यार्डको पर किनारामा रहेकाले तुलनात्मक रूपमा सुरक्षित रहेको बताइएको छ ।
हाल घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ । कति गाडी बगेका छन्, कुन–कुन ब्राण्डका हुन् भन्ने विस्तृत विवरण आउन बाँकी छ । अहिले नाडा अटोमोबाइल्स एसोसिएसनले पनि सरकारसँग समन्वय गरेर आवश्यक तथ्यांक संकलन गरिरहेको छ ।