प्राधिकरणको नयाँ निर्देशः बीमालेख जारी र इन्सेन्टिभमा कडाई
काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमक कम्पनीहरूका लागि बीमालेख जारी गर्ने प्रक्रिया र इन्सेन्टिभ व्यवस्था सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ।
बीमकहरूले आफ्नो आवधिक वित्तीय विवरण तयार गर्ने समय र इन्सेन्टिभ दिने मितिबीच तालमेल नमिल्दा उत्पन्न भएको जटिलता समाधान गर्न प्राधिकरणले यो कदम चालेको हो।
प्राधिकरणले जारी गरेको निर्देशनअनुसार अबदेखि प्रत्येक त्रैमासिकको अन्तिम दिन कुनै पनि नयाँ बीमा प्रस्ताव स्वीकृत गर्न नपाइनेछ। यद्यपि, उक्त दिनको अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरूको लागि बीमालेख भने जारी गर्न सकिनेछ।
त्यसैगरी, जीवन बीमा अभिकर्ताहरूका लागि बीमा गर्ने लक्ष्य, इन्सेन्टिभ वा स्किम तोक्दा हरेक महिनाको २८ गतेभित्र नै कार्य सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। २८ गतेपछि गरिने बीमालेखहरू भने सोही महिनाको स्किम वा इन्सेन्टिभमा समावेश नहुने र अर्को महिनाको योजनामा मात्र गनिनेछ।
बीमा बजारमा पारदर्शिता र वित्तीय अनुशासन कायम राख्न यो निर्णय महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। बीमक कम्पनीहरूले निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ र उल्लंघन गरेमा प्राधिकरणले आवश्यक कारबाही गर्ने चेतावनी पनि दिएको छ।



















