अबदेखि ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले सचेतना कक्षा लिन कार्यालय धाउनु नपर्ने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अबदेखि ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले सचेतना कक्षा लिन कार्यालय धाउनु नपर्ने



काठमाडौं । अबदेखि ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले सचेतना कक्षा लिन ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने छैन। प्रहरीले अनलाइन ट्राफिक सचेतना कक्षा सुरु गरेसँगै यो प्रक्रिया डिजिटल रूपमा सहज र पारदर्शी बनेको छ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालय, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त सेवा शुभारम्भ गरेा हुन्।

नयाँ व्यवस्थाअनुसार नागरिक एप प्रयोगकर्ताहरूले अनलाइनमै सचेतना कक्षामा सहभागी भई आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्। यसअघि मापसे, रातो बत्ती उल्लङ्घन, तीव्र गति वा लेन अनुशासनजस्ता नियम तोड्नेहरूले ट्राफिक कार्यालयमै उपस्थित भएर सचेतना कक्षा लिनुपर्ने बाध्यता थियो।

कक्षा कसरी लिने ?

यसअघि नै अनलाइन जरिवाना भुक्तानीको सुविधा लागू गरिसकेको ट्राफिक प्रहरीले अब सचेतना कक्षा एपमै उपलब्ध ‘Tech Online Class’ नामक सेवा मार्फत लिने व्यवस्था गरेकाे हाे ।

अनलाइन ट्राफिक कक्षा लिनका लागि प्रयोगकर्ताले नागरिक एप खोल्ने र ‘Tech Online Class’ विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि ‘Term and Conditions’ पढेर “कक्षामा सहभागी हुनुहोस्” भन्ने बटन थिच्नुपर्छ।

त्यसपछि एउटा इन्टरफेस खुल्नेछ, जहाँ प्रयोगकर्ताले आफ्नो तस्बिर अपलोड गर्नुपर्छ र निर्धारित थ्रेसहोल्ड अनुसार कक्षा अवलोकन गर्नुपर्ने हुन्छ।

एक शैक्षिक भिडियो हेर्नुपर्छ, जसपछि ६ प्रश्नहरू सोधिन्छन्, जसमा कम्तीमा ३ वटा प्रश्नको सही उत्तर अनिवार्य हुन्छ।

कक्षा सुरु भएपछि प्रयोगकर्ताको मोबाइल क्यामेरा अनुहारतर्फ फर्किएको हुनुपर्नेछ, किनभने एआइ प्रविधिले अनुहारलाई सुरुदेखि अन्त्यसम्म निगरानी गर्छ।

क्यामेरा अफ भएको, अनुहार नदेखिएको वा तीन पटकसम्म चेतावनी आएको खण्डमा प्रणालीले कक्षा डिसकनेक्ट गरिदिन्छ। त्यस्तो अवस्थामा प्रयोगकर्ताले १२ घण्टा कुर्नु पर्नेछ, अनि मात्र पुनः कक्षामा सहभागी हुन सकिनेछ।

नयाँ प्रणालीले ट्राफिक प्रशासनलाई प्रविधिमैत्री बनाउने मात्र होइन, उल्लङ्घनकर्तालाई सजग बनाउने, कागजी प्रक्रिया हटाउने र कार्यालयको चाप कम गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्