नयाँ स्टक एक्सचेन्ज लाइसेन्समा गम्भीर चलखेल भएको भन्दै प्रक्रिया तत्काल रोक्नु पर्ने प्रचण्डकाे माग
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा अर्बौं रुपैयाँको भ्रष्टाचारको चलखेल भइरहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले बोल्दै अध्यक्ष प्रचण्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा अर्बौंको भ्रष्टाचारको खेल भइरहेको खुलासा गर्दै लाइसेन्स वितरण प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइनु पर्ने भन्दै अहिलेको प्रक्रिया तत्काल रोक्न सरकारलाई आग्रह गरे।
उनले प्रश्न गरे, ‘के सरकार अहिलेको प्रक्रिया रद्द गरेर लाइसेन्स लिन चाहने इच्छुकहरुलाई निर्धारित मापदण्ड र विधिसम्मत तरिकाले प्रकृया अघि बढाएर भ्रष्टाचार रोक्न तयार छ ? यो प्रश्न धेरै गम्भिर छ ।’
बजारको विकृति र स्वार्थ समूहको हस्तक्षेपले पूँजी बजारको विश्वसनीयता खतरामा पर्दै गएको छ, जसले आम लगानीकर्ताको विश्वास समेत डगमगाउने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।












