७ श्रावण २०८३, बिहिबार

खल्ती र आईएमई पेको औपचारिक रुपमा एकीकृत सेवा सुरु



काठमाडाैं । आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गते देखि ‘खल्ती बाई आईएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।

नेपालमा पहिलो पटक भएको दुई वालेट बिचको यस एकीकरणलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको उपस्थितिमा याक एन्ड यतिमा एक भव्य समारोह गर्दै औपचारिक घोषणा गरिएको हो।

झन्डै एक दशक देखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै आ-आफ्नो पहिचान बनाएका यी दुई वालेटले एक भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार शुभारम्भ गरेका छन्। एक मात्र ब्याज दिने वालेट रूपमा रहेको आईएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवाहरूका लागि प्रख्यात थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्नो नयाँ इनोभेसनका कारण युवा पुस्ता माझ लोकप्रिय थियो।

अब यी दुवै वालेट मर्ज भएर एक भए पश्चात् आ-आफ्ना उत्कृष्ट फिचरहरूलाई अझै परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा पस्किने अपेक्षा गरिएको छ ।

आईएमई पे आईएमई ग्रुप अन्तरगत सञ्चालनमा रही आएको थियो भने ४ जना सह-संस्थापक मिलेर स्थापना भएको खल्ती वालेटमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपहरू जस्ता कर्पोरेटहरू लगानीकर्ताको रूपमा भित्रिएका थिए।

नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’ नामबाट सञ्चालन हुनेछ।

साबिकका आईएमई पेका प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाई आईएमई’ मा माईग्रेट गर्ने सुविधा सार्वजनिक भइसकेको छ जसबाट आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टहरू र सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्तीका प्रयोगकर्ताहरूले भने आफ्नो खल्ती एपलाई अपडेट गरी नयाँ एपको अनुभव गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, बम बहादुर मिश्रले उक्त समारोहमा डिजिटल भुक्तानीले वित्तीय पारदर्शकताको बढोत्तरी हुने भएका कारण हरेक क्षेत्रमा यसको लागु हुन जरुरी भएको कुरालाई खास जोड दिए। यसका साथै सबै नेपालीहरू माझ अझ सुरक्षित, अझ सरल र सबल भुक्तानी प्रक्रिया लागि एक प्रयोगकर्ता मैत्री प्लेटफर्मको रूपमा अगाडि बढ्न बधाई तथा शुभकामना व्यक्त गरे।

आईएमई पेका अध्यक्ष, कृष्ण प्रसाद शर्माले आईएमई पेको यात्रा समावेशी वित्तीय सेवामा गहिरो आधार निर्माण भएकाे भन्दै अब खल्तीसँगको एकताबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिने बताए ।

खल्तीका अध्यक्ष, मनोज कुमार अग्रवालले खल्ती र आईएमई पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम भएकाे बताए । उनले भने, ‘अब आईएमई खल्ती लिमिटेडले सम्पूर्ण देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्नेछ।’

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन र भिजन बारे बताउँदै डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरे।

खल्तीमा आधिकारिक प्रयोगकर्ता ७० लाख भन्दा बढी रहेका छन् भने आईएमई पे मा ५७ लाख भन्दा बढी छन् जो अब एकै एपमा समावेश भई १ करोड २७ लाख हुनेछन्।

एकीकरण पश्चात् ५४.५४ करोड भन्दा बढी चुक्ता पुँजी भई ‘आईएमई बाइ खल्ती’ देखकै ठुलो डिजिटल वालेट बनेको छ। यस नयाँ सुरुवातले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्