१ कार्तिक २०८३, आइतबार

एमालेमा नेतृत्व संरचना छोट्याउने प्रस्ताव, पदाधिकारी संख्या १९ बाट ११ मा झार्ने



काठमाडौं। नेकपा एमालेमा पदाधिकारीको संख्या घटाउने प्रस्ताव आएको छ । बिहीबार बसेको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले पदाधिकारीको संख्या ११ मा झार्न प्रस्ताव राखेका हुन्। एमालेमा अहिले पदाधिकारीको संख्या १९ छ ।

पौडेलको प्रस्ताव अनुसार, अहिले कायम वरिष्ठ उपाध्यक्षको पद खारेज गरिनेछ। यो पद २०७८ सालमा चितवनमा सम्पन्न १०औं महाधिवेशनमा विशेष व्यवस्थापनका लागि इश्वर पोखरेललाई लक्षित गरेर सिर्जना गरिएको थियो।

उक्त प्रस्ताव अनुसार, उपाध्यक्षको संख्या ६ बाट घटाएर ३ मा झारिनेछ भने उपमहासचिव ३ बाट १ मा सीमित गरिनेछ। सचिवको संख्या पनि ७ बाट घटाएर ५ मा ल्याउने प्रस्ताव गरिएको छ।

पार्टीको कार्यदक्षता, अनुशासन र स्पष्ट नेतृत्वको आवश्यकता भन्दै पौडेलले यो संरचनागत परिवर्तनको प्रस्ताव अघि सारेको बताइएको छ। यद्यपि, प्रस्तावबारे औपचारिक निर्णय भने पार्टी स्थायी कमिटी र महाधिवेशनको प्रक्रियाबाट मात्र हुने स्पष्ट संकेत सचिवालय स्रोतले दिएको छ।