झन्डै २० अर्ब रुपैयाँले घट्यो सरकारको ट्रेजरी पोजिसन
काठमाडाैं । सरकारको ट्रेजरी पोजिसन गत वर्षको तुलनामा करिब २० अर्बले घटेको छ। २०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा चालू आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ घाटामा रहेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको ‘संघीय संचित कोषको अवस्था’ प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सरकारको कुल आम्दानी (राजस्व र अनुदानसहित) १२ खर्ब २९ अर्ब रुपैयाँ मात्रै भएको छ भने कुल खर्च १५ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।
सरकारले गरेकाे कुल खर्चकाे ७० प्रतिशत अर्थात १० खर्ब ८ अर्ब रुपैयाँ चालु खर्च मात्र हो भने पूँजीगत खर्च भने २ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित रहेको छ, जुन कुल खर्चको १६ प्रतिशत मात्रै हो।
वित्तीय व्यवस्थापन खर्चतर्फ २ खर्ब ११ अर्ब रुपैयाँ खर्च भएको छ, जसमा ऋण तिर्ने, बैङ्किङ कारोबार र अन्य व्यवस्थापकीय खर्चहरू पर्छन्। यी सबै खर्च जोड्दा सरकारको आम्दानीभन्दा ३ खर्ब २९ अर्ब रुपैयाँ बढी खर्च भएको देखिएकाे छ।
अघिल्लो वर्षको तुलनामा पूँजीगत खर्चमा थोरै वृद्धि भए पनि त्यसको अनुपात कुल खर्चमा घट्दै गएको छ। यसले सरकारको खर्च दिगो आर्थिक वृद्धिमा नलागेको, बरु ब्यवस्थापकीय र प्रशासनिक पक्षमा केन्द्रीत भएको देखाउँछ।
यस्तै गत वर्ष विदेशी अनुदान भने झनै न्यून ३२ अर्ब ३५ करोड रुपैयाँ मात्र भित्रिएको छ। कुल राजस्वको ८५ प्रतिशतभन्दा धेरै हिस्सा आन्तरिक स्रोत (कर र गैरकर) बाट आएको हो।
गत सरकारलाई २ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको वैदेशिक ऋण उपलब्ध भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १७ अर्बले घटेको हो। यद्यपि, अनुदानको अनुपात भने अझै पनि निकै कम रहेको छ, जसले वैदेशिक सहायता प्रणालीको निराशाजनक अवस्था झल्काउँछ।















