छुट्ला है हिमालयन बैंकको एफपीओ, आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने कानुनी व्यवस्था अनुसार बैंकले एफपीओ जारी गरेको हो।
हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसमध्ये ७२.९९ प्रतिशत शेयर संस्थापक समूहको स्वामित्वमा रहेको छ भने २७.०१ प्रतिशत सर्वसाधारण लगानीकर्ताको स्वामित्वमा रहेको छ।
अब सर्वसाधारणको स्वामित्व हिस्सा ३० प्रतिशत पुर्याउने उद्देश्यले बैंकले एफपीओमार्फत १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरका शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।
बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा बिक्री खुला गरेको छ।
यस एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम माग गरिएको सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ। एफपीओको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले हिमालयन बैंकलाईअर्थात ‘मध्यम जोखिम रहेको’ श्रेणीमा राखेको छ, जसले बैंकले आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने क्षमता रहेको जनाउँछ।
एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ।













