रसुवामा बाढी वितन्डा : क्षति उपर बीमा कम्पनीहरुमा झन्डै २९ करोडको दावी पेश, कुनमा कति ?
काठमाडौं । रसुवा आएको बाढीको क्षति उपर बीमा कम्पनीहरुमा झन्डै २९ करोड रुपैयाँ बराबरको दावी पेश भएको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत साउन १ गतेसम्मको प्रारम्भिक दावीको विवरणले यस्तो देखाएको हो ।
गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढी पहिरो व्यापाक मात्रामा क्षति पुर्याएको थियो । बाढीले धेरै घर, गाडी, पसल लगायतका अन्य भौतिक संरचनाहरु बगाएको थियो ।
क्षतिबाट बीमा कम्पनीहरुमा २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दावी पेश भएको छ ।
बाढीले निजी तथा सार्वजनिक मोटरमा ठुलो संख्यामा क्षति पुर्याएको देखिन्छ । मोटर बीमा अन्तर्गत कुल ४३ वटा दावी पेश भएको छ । सार्वजनिक मोटर बीमा अन्तर्गत २ करोड ३१ लाख ५० हजार र निजी तर्फ १ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।
रकमको आधारमा भने सामुन्द्रिक बीमा अन्तर्गत १५ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको ६ वटा दावी पेश भएको छ । प्राधिकरणका अनुसार इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा ५ करोड ५५ लाख, सम्पत्ति बीमामा ४ करोड १८ लाख ५० हजार रुपैयाँ बराबरको १० वटा बीमा दावी पेश भएका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा ठुलो दावी शिखर इन्स्योरेन्स कम्पनीमा १० वटा पेश भएको छ। कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको दावी पेश भएको हो ।
यस्तै, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीमा ३ करोड ४१ लाख ५० हजार, नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।
यता, सानिमा जिआइसीमा ७७ लाख, आइजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार, युनाईटेड अजोडमा ६८ लाख, एनएलजीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।













