पर्यटक र विद्यार्थिका लागि अमेरिका भ्रमण महँगियो, अब भिसासँगै सुरक्षा शुल्क पनि तिर्नु पर्ने
काठमाडाैं । अमेरिका प्रवेश गर्न चाहने अन्तर्राष्ट्रिय आगन्तुकहरूले अब नयाँ ‘भीसा इन्ग्रिटी शुल्क’ तिर्नु पर्ने भएकाे छ । ट्रम्प प्रशासनको हालै पारित गरिएको घरेलु नीतिसम्बन्धी विधेयकमा उक्त व्यवस्था समावेश गरिएकाे हाे ।
याेसँगै अब अमेरिका भ्रमण गर्न चाहने पर्यटक तथा विद्यार्थीहरूले हालको भिसा आवेदन शुल्कमा थप २५० अमेरिकी डलर वा सोभन्दा बढी तिर्नु पर्ने सिएनएनले उल्लेख गरेकाे छ ।
नयाँ शुल्क गैर-आप्रवासी भीसा अनिवार्य पर्ने सबै आगन्तुकहरूमा लागू हुनेछ। यसमा पर्यटक, व्यापार प्रयोजनमा आउनेहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, र अन्य अस्थायी आगन्तुकहरू पनि समावेश छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२४ मा करिब १ करोड १० लाख गैर-आप्रवासी भिसा जारी गरिएका थिए।
तर भीसा वेभर कार्यक्रममा सहभागी देशहरू जस्तै अष्ट्रेलिया र धेरै युरोपेली मुलुकका नागरिकहरू जो ९० दिन वा कम अवधिको लागि अमेरिका जान्छन्, उनीहरूलाई भने यो नयाँ शुल्क लागू हुने छैन।
शुल्क भिसा जारी हुने बेला नै तिर्नुपर्नेछ र यसमा कुनै शुल्क छुटको व्यवस्था छैन। तर, यात्रुहरूले यदि भिसाका सर्तहरू पालना गरेमा, यात्रा सकिएपछि उक्त शुल्क फिर्ता लिन सकिने व्यवस्था विधेयकमा उल्लेख छ।
यो शुल्क रिफन्डयोग्य सुरक्षा धरौटीका रूपमा बुझ्न सकिने बताइएकाे छ। तर शुल्क फिर्ता लिनको प्रक्रिया अझै स्पष्ट भने भइसकेको छैन।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो शुल्क आप्रवासन नियन्त्रणलाई बलियो बनाउने, भीसा ओभरस्टे कम गर्ने, र सीमाक्षेत्र सुरक्षालाई सुदृढ गर्ने उद्देश्यले लागू गरिएको बताउका छन् ।
फिर्ता नहुने शुल्क भने अमेरिकी कोषाध्यक्षको सामान्य कोषमा जम्मा गरिने स्पष्ट उल्लेख विधेयकमा गरिएको छ।
आर्थिक वर्ष २०२५ मा लागू हुने प्रारम्भिक शुल्क कम्तीमा २५० डलर वा गृह सुरक्षा सचिवले तोकेको थप रकम हुन सक्नेछ। यो रकम हरेक वर्ष मुद्रास्फीतिअनुसार समायोजन गरिनेछ।
शुल्कसम्बन्धी आधिकारिक जानकारी अमेरिकी विदेश मन्त्रालयको भिसा जानकारी पृष्ठमा प्रकाशित गरिने मन्त्रालयले जनाएको छ।
नयाँ शुल्कले अमेरिका भ्रमण गर्ने पर्यटकहरूको लागि अनावश्यक आर्थिक बोझ थपिएको छ। यो शुल्कले अमेरिकी भ्रमणको पूर्वखर्च १४४ प्रतिशतले बढाउँने अमेरिकन ट्राभल एसोसिएसनले जनाएकाे छ ।













