अब टिएमएसमा बैंक खाता लिङ्क अनिवार्य, पैसा नभए सेयर किनबेच बन्द
काठमाडौं । सेयर बजारमा अब पैसा भए मात्रै कारोबार गर्न पाइने भएको छ ।
नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैंक खाता लिङ्क गरिने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम अन्तर्गत बोर्डले दोस्रो बजारबाट सेयर खरिद गर्दा खातामा पर्याप्त रकम भए मात्र खरिद आदेश कार्यान्वयन हुने स्पष्ट पारेको छ ।
यस व्यवस्थाले अहिले प्रचलित ‘उधारोमा कारोबार’ गर्न पाउने अभ्यासमा प्रभाव पार्ने देखिएको छ । प्रणाली लागू भएपछि लगानीकर्ताले कुनै कारोबार अघि नै खातामा रकम सुनिश्चित गर्नुपर्नेछ । सेयर बजारमा पारदर्शिता, जवाफदेहिता र जोखिम नियन्त्रण कायम गर्न नयाँ प्रावधान गरिएको बोर्डले जनाएको छ।


















