कम्बोडिया-थाइल्यान्ड सिमा विवादः युद्धविरामका लागि तत्काल वार्ता गर्ने सहमति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कम्बोडिया-थाइल्यान्ड सिमा विवादः युद्धविरामका लागि तत्काल वार्ता गर्ने सहमति



काठमाडौं। कम्बोडिया र थाइल्यान्डबीच पछिल्लो केही दिनदेखि जारी सिमा संघर्षलाई अन्त्य गर्न दुवै देशका नेताहरू तयार भएका छन्।

शनिबार दुबै देशका तर्फबाट सार्वजनिक वक्तव्यहरू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गरिएको सन्देशमा यो सहमति पुष्टि गरिएको हो।

राष्ट्रपति ट्रम्पले यस साता कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईसँग वार्ता गर्दै शान्तिका लागि पहल गरेका थिए। “उनीहरूले तत्काल वार्ता गर्न र युद्धविराम तथा अन्ततः शान्तिको लागि कदम चाल्न सहमति जनाएका छन्,” ट्रम्पले लेखेका छन्।

यदि सिमा द्वन्द्व जारी रह्यो भने अमेरिकाले ती देशहरूसँग कुनै व्यापार सम्झौता नगर्ने ट्रम्पकाे चेतावानी थियाे । यसअघि जुलाईको सुरुमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियालाई पत्र लेख्दै अगस्ट १ देखि ती देशका अधिकांश निर्यातमा ३६ प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका थिए। त्यसपछि दुबै देशले अमेरिकासँग व्यापार सम्झौता प्राप्त गर्न विशेष प्रस्तावहरू राखेका थिए।

स्थानीय समयअनुसार आइतबार बिहान कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै ‘दुवै सेनाबीच तुरुन्त र बिना सर्त युद्धविराम गर्न प्रस्ताव’ मा सहमति जनाएको बताएका छन्।

कम्बोडिया र थाइल्यान्डबीचको सिमा विवाद फ्रान्सको उपनिवेशकालदेखि जारी रहँदै आएको हो। पछिल्लो समयको हिंसात्मक द्वन्द्वले थाइल्यान्डको अनुभवी सेनालाई चीनसँग घनिष्ठ सम्बन्ध रहेको कम्बोडियाको तुलनात्मक रूपमा युवा सेनासँग भिडाइरहेको छ।

बिहीबारदेखि सुरु भएको संघर्षमा अहिलेसम्म एक दर्जनभन्दा बढी मानिसको मृत्यु, दर्जनौं घाइते, र १ लाख ५० हजारभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्। शनिबारसम्म पनि द्वन्द्व जारी रहेको दुबै देशका अधिकारीहरूले पुष्टि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्