विशाल ग्रुपको कमला रोलिङ मिल्सले गर्यो डेढ अर्बको व्यापार, पौने तीन अर्बको कर्जा रेटिङ
काठमाडौं । कमला रोलिङ मिल्स प्रालिले साढे ११ महिनामा डेढ अर्बको व्यापार गरेको छ ।
विशाल ग्रुपअन्तर्गत सञ्चालित यो मिल्सले सन् २०२५ को साढे ११ महिनामा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । जबकि, गत वर्ष सन् २०२४ मा कम्पनीले १ अर्ब ४४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
यस्तै, सन् २०२२ मा २ अर्ब ७१ करोड, सन् २०२३ मा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, त्यसपछि भने व्यापारमा केही संकुचन आएको देखिन्छ ।

कमला रोलिङ मिल्स नेपाली इस्पात उद्योगको एक सशक्त नाम हो, जसले तीन दशकभन्दा लामो समयदेखि उत्पादन तथा व्यापारमा निरन्तरता दिँदै आएको छ ।
सन् १९९२ डिसेम्बर २ मा स्थापना भएको यो कम्पनी मोरङको बुद्धिगंगा–३ मा अवस्थित छ । कम्पनीको नेतृत्व जगदिशप्रसाद अग्रवालले गर्दै आएका छन्, जसको कम्पनीमा २४.५४ प्रतिशत स्वामित्व रहेको छ । अग्रवालको दीर्घ अनुभव र नेतृत्वमा कम्पनीले स्थायीत्व र व्यवसायिक विस्तारमा सफलता हात पारेको बताइन्छ ।
कमला रोलिङ मिल्सले विभिन्न प्रकारका इस्पातजन्य सामग्रीहरूको उत्पादन गर्दै आएको छ । प्रमुख उत्पादनहरूमा टीएमटी डण्डी, जिआई तार, बार्बेड तार तथा ग्याल्भियन बक्सेस रहेका छन् ।
कम्पनीको वार्षिक उत्पादन क्षमता ८० हजार मेट्रिक टन रहेको छ । देशको पूर्वी औद्योगिक क्षेत्र मोरङमा अवस्थित यो उद्योगले नेपाली बजारमा गुणस्तरीय उत्पादन आपूर्ति गर्दै आएको छ ।
लामो समयको सञ्चालन अनुभव र आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणालीको कारण कम्पनीले आन्तरिक बजारमा विश्वास जित्दै आएको छ । मिल्सले दीर्घकालीन व्यापार रणनीति, उत्पादन विविधीकरण र गुणस्तरमा निरन्तर सुधारका साथ नेपाली इस्पात क्षेत्रमै एक विशिष्ट पहिचान बनाउँदै आएको छ ।
पौने तीन अर्ब कर्जाका लागि रेटिङ्ग
कम्पनीले पौने तीन अर्ब कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४४ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।













