३००० अंकमाथि किन टिक्न सकेन सेयर बजार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

३००० अंकमाथि किन टिक्न सकेन सेयर बजार ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सूचक ११ महिनाभन्दा बढी समयपछि इन्ट्रा–डे कारोबारमा ३००० अंकभन्दा माथि उक्लिए पनि यो बृद्धिलाई बर्करार राख्नमा सेयर बजार सक्षम भएन ।

आइतबार सुरुआति कारोबारमा उकालो लागेको नेप्से दिउँसो १२ः५१ मा ३ हजर १३ अंक नाघिसकेको थियो । तर त्यसपछि बजार लगातार ओरालो लाग्यो । बन्द हुँदासम्म नेप्सेको सूचक अघिल्लो दिनको तुलनामा करीब साढे १८ अंक घटेर २९६४ अंकमा झरेको थियो ।

नेप्सेका लागि ३००० अंकको स्तर पार गर्नु त्यति सजिलो छैन । यस अघि अन्तिम पल्ट गत साल भदौ ९ गते नेप्से उक्त स्तरमा पुगेर ओरालो लागेको थियो ।

बन्द सूचकलाई मात्रै हेर्ने हो भने त पोहोरको साउन ३० गते नेप्से परिसूचक ३०००.८१ अंकमा रोकिएको थियो ।

गएको असार १२ मा २५९५ अंकमा बन्द भएको सेयर बजार त्यसयता लगातार उकालो लाग्ने क्रममा छ । यही साउनको १ र ६ गते नेप्सेले निकै फराकिलो ‘जम्प’ गरेको थियो ।

त्यस बाहेकका दिनमा पनि बजार क्रमशः उचालिएकै देखिन्थ्यो । तर आइतबारको गिरावटपछि नेप्से गत सोमबारयताकै न्यून विन्दुमा झरेको छ ।

नेप्सेको दिनभरको ब्यापार प्रबृत्तीले २९६० अंकबाट उकालो लाग्ने बारम्बार कोसिस गरेको देखिन्छ । यसले आगामी दिनमा बजार बढ्नसक्ने संभावनालाई निमिट्यान्न पारेको छैन ।

नेप्सेले ३००० अंकको स्तरलाई छिचोलेर उकालो लाग्यो भने उसका लागि ३२०० अंकको त्यही प्रतिरोध सबैभन्दा कठोर बन्न सक्छ, जुन चार वर्ष अघिको भदौ २ मा तयार भएको थियो ।

नेप्सेले ३२२७ अंक पार पर्यो भने ऊ पूर्णतः ‘बूलिश’ बन्ने छ । त्यसपछि उसका हरेक उचाईहरु कीर्तिमानी तय हुने छन् ।

अहिले नै १५ प्रतिशतजतिको बृद्धि समेटिसकेको नेप्सेका लागि नयाँ उचाई चुम्नु धेरै कठीन नपर्ने कतिपयको बुझाइ छ ।

तर नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको ब्याज बुझाउने अवधि साउन १५ सम्म लम्ब्याइदिएका कारण बैंकको ऋण तिर्न सेयर बजारबाट पैसा निकाल्न चाहनेहरु बढ्न सक्ने ठानिएको थियो । अबको तीन दिनमा ब्याज तिर्ने समय आउने भएका कारण पनि आइतबारको बजारलाई ब्याज तिर्ने माध्यम बनाउन सक्ने संभावना छ ।

सोमबारदेखि भने विक्री चाप कम हुनसक्ने र यसले बजारलाई पुनः उचाल्न सक्ने आँकलन गर्नेहरु पनि छन् । त्यसो त, एक साता हाराहारीमा पौने ३ सय अंक बढेपछि बजारमा विक्री चाप अधिक हुनुलाई कतिपयले स्वाभाविक पनि ठानेका छन् ।

यद्यपि साढे ३ वर्ष अघि पनि नेप्से यही स्तरमा आएर ओरालो झरेको थियो । ३००० अंकमा नेप्सेको इतिहासले निकै दर्बिलो प्रतिरोधहरु देखाएको छ । तर यस्ता प्रतिरोधहरु सामना गर्न अहिले सेयर बजार पनि पूर्णतः सक्षम देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्