निलम्बन खारेजी माग्दै ओझाद्वारा सर्वोच्चमा रिट दायर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

निलम्बन खारेजी माग्दै ओझाद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेजी र निलम्बन फुकुवाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, छानबिन समिति र त्यसका सदस्यहरूलाई विपक्षी बनाउँदै संयुक्त रिट दायर गरेका हुन् ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुशलमानले विपक्षीहरूलाई कारण देखाउ आदेश जारी गरेका छन् । अर्को सुनुवाइ सोमबारका लागि तय गरिएको छ ।

सरकारले असार ३० गते ओझाको आचरण, मर्यादा र कार्यक्षमता छानबिन गर्न समिति गठन गरेको थियो । बीमा ऐन २०७९ अनुसार छानबिन समिति गठन भएलगत्तै अध्यक्ष स्वतः निलम्बनमा परेका हुन् ।

यसअघि पनि ओझाको नियुक्ति बदरको मागसहित दायर अर्को रिटमा सर्वोच्चले पूर्ण सुनुवाइको आदेश दिइसकेको छ । नियुक्तिमा आवश्यक योग्यता नपुगेको भन्दै उक्त रिट दायर गरिएको हो ।

ओझा गत फागुन १२ गतेको मन्त्रिपरिषद बैठकबाट अध्यक्षमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्