अविरल वर्षाले देशभर ८ राजमार्ग पूर्ण अवरुद्ध, दर्जनौं सडकमा आवागमन प्रभावित
काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण प्रमुख राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार देशका आठ स्थानमा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् । ती बाहेकका अन्य धेरै सडक खण्डमा आवागमन प्रभावित भएको छ ।
अहिले कोशी राजमार्ग (भोटखोला, सङ्खुवासभा), नेपाल–चीन जोड्ने पुल (गोसाइँकुण्ड, रसुवा), पासाङ ल्हामु राजमार्ग (रसुवा), अरनिको राजमार्ग (भोटेकोशी, सिन्धुपाल्चोक), मध्यपहाडी राजमार्ग (शिवपुरी, नुवाकोट), भेरी करिडोर (आठबिसकोट, रुकुम पश्चिम), कर्णाली करिडोर (सिमकोट, हुम्ला) र मध्यपहाडी राजमार्ग (छेडगाड, जाजरकोट) अवरुद्ध भएका छन् ।
यसबाहेक टोखा–नुवाकोट, बेनी–जोमसोम, कालिगण्डकी करिडोर (बाग्लुङ र नवलपरासी खण्ड) र सहिद राजमार्ग (रोल्पा) लगायतका सडकहरू आंशिकरूपमा मात्र सञ्चालनमा छन् ।
वर्षाले पहिरो, कटान र भूस्खलनका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सर्वसाधारणलाई यात्रा गर्दा सावधानी अपनाउन र आवश्यक परेको खण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । सरकारले अवरुद्ध सडक खुलाउन डोजरसहितको टोली परिचालन गरिरहेको छ ।













