सेजनलाई लाग्यो चुनाव, को–को छन् मैदानमा ?  « Arthapath.com
५ असार २०८३, शुक्रबार

सेजनलाई लाग्यो चुनाव, को–को छन् मैदानमा ? 



काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो २७औँ वार्षिक साधारण सभा तथा निर्वाचनको मिति तय गरेको छ । 

मङ्गलवार बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति तय गरेको सेजनका सचिव शोभित थपलियाले बताए 

आगामी साधारण सभाले नयाँ कार्यसमिति चयन प्रक्रिया पनि अघि बढाउने छ । साधारण सभा मिति तय हुनुअघिनै आगामी नेतृत्व चयनसँग जोडेर विशेष चासोका साथ हेरिएको छ । 

यस पटकको सेजन निर्वाचन धेरैले चासोका साथ हेरेका छन् । विगतको अनुभव, कार्यक्षमता र संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राख्दै, सेजनभित्र नयाँ सोच र गतिशील नेतृत्वको खोजी भइरहेको देखिन्छ ।

निर्वाचन नतोकिँदै आकाङ्क्षीहरू आन्तरिक तयारीमा जुटिरहेका छन् । सेजनभित्र अहिले चुनावी गर्मी बढ्दो छ । 

सेजनको आगामी अध्यक्ष पदका लागि हालसम्म चार जनाको नाम चर्चामा छ । वर्तमान उपाध्यक्ष विनय बञ्जारा, महासचिव विश्वास रेग्मी, नेपाल टेलिभिजनमा आबद्ध आशा थपलिया र पूर्व महासचिव भागवत भट्टराई अध्यक्ष पदका सम्भावित प्रतिस्पर्धीका रूपमा देखिएका छन् । 

सेजनको महासचिवमा वर्तमान कोषाध्यक्ष अच्युत पुरी र राष्ट्रिय समाचार समितिका कार्यरत कमलकुमार बस्नेत प्रत्यसी देखिएका छन् । 

उम्मेदवारहरूले औपचारिक घोषणा नगरेता पनि भेटघाट, छलफल र रणनीतिक समूह निर्माण जस्ता गतिविधि तीव्र बनाएका छन् । 

अध्यक्ष पदसँगै महासचिव, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूका लागि पनि उम्मेदवारहरू आन्तरिक रूपमा सक्रिय हुँदै आएका छन् । खुला रूपमा नाम नआए पनि इच्छुक व्यक्तिहरूले समूहगत छलफल, सञ्जाल निर्माण र प्रचार–प्रसार गर्न थालेका छन् । 

बैठकमा सेजनले गत कात्तिक ३० गते आयोजना गरेको स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिता क्रममा घाइते भएका संस्थाका सदस्य दीपेन्द्र थापालाई थप आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्