आर्थिक अनुशासनमा अब्बल ओली : पारिश्रमिक, इन्धन र सवारी मर्मतमा ठूलो कटौती, कहाँ कति खर्च भयो ? « Arthapath.com
५ असार २०८३, शुक्रबार

आर्थिक अनुशासनमा अब्बल ओली : पारिश्रमिक, इन्धन र सवारी मर्मतमा ठूलो कटौती, कहाँ कति खर्च भयो ?



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आर्थिक अनुसासनमा अब्बल देखिएका छन् ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको २ आर्थिक वर्षको खर्च विवरण अनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालको तुलनामा प्रधानमन्त्री ओलीले २ करोड ६ लाख ६४ हजार ३५३ रूपैयाँ कम खर्च गरेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री प्रचण्डको कार्यालयले ६ करोड २१ लाख रुपैयाँभन्दा बढी खर्च गरे पनि, त्यसको ठीक पछिल्लो वर्ष प्रधानमन्त्री ओलीको पालामा खर्च ४ करोड १४ लाख रुपैयाँमा झरेको छ।

प्रधानमन्त्री कार्यालयकाे याे आँकडामा सबैभन्दा ठूलो अन्तर पारिश्रमिक, इन्धन, सवारीसाधन मर्मत र विविधमा देखिएको छ । अघिल्लाे आर्थिक वर्षकाे तुलनामा यस पटक ओलीले इन्धन खर्चमा मात्र ५८ लाखभन्दा बढीको कटौती गरेका छन्।

तत्कालिन प्रधानमन्त्री प्रचण्डको पालामा (२०८०/८१) ७३ लाख ८१ हजार इन्धन खर्च भएकोमा ओली प्रधानमन्त्री हुँदा याे खर्च सिधै १४ लाख ९८ हजार रूपैयाँमा झरेकाे छ । जुन अघिल्लो आवको तुलनामा यस शीर्षकमा ५८ लाख ८३ हजार रुपैयाँ कम खर्च भएको हाे ।

यस्तै पारिश्रमिक शीर्षकमा पनि यी दुई आर्थिक वर्ष तुलना गर्दा ७५ लाख ६६ हजार रुपैयाँ कटाैति भएकाे छ ।

आर्थिक वर्ष २०८०/८१ प्रचण्डको पालामा पारिश्रमिक शीर्षकमा २ करोड ४० लाख २६ हजार रूपैयाँ खर्च भएकोमा ओलीको पालामा २०८१/८२ मा उक्त शीर्षकमा एक करोड ६४ लाख ६० हजार रूपैयाँमात्रै खर्च भएको छ ।

यस्तै अघिल्लो आवको तुलनामा गत आवमा सवारी साधन मर्मत खर्चमा २ लाख २७ हजार कम खर्च भएको छ । आव २०८०/०८१ मा सवारी साधन मर्मत खर्चमा ५९ लाख ५० हजार खर्च भएकोमा आव २०८१/०८२ मा ५७ लाख २२ हजार भएको छ ।

हेर्नुस १ वर्षमा कुन शिर्षकमा कति खर्च भयाे ?

आर्थिक वर्ष २०८१/०८२ मा प्रधानमन्त्री ओली नेतृत्वकालमा पारिश्रमिकमा १ कराेड ६४ लाख ६० हजार ४७९, पाेशाक शिर्षकमा ५ लाख ४९ हजार ९०, सञ्चार महशुल शिर्षकमा ६० हजार, इन्धनमा १४ लाख ९८ हजार १८७, सवारी साधन मर्मततर्फ ९७ लाख २२ हजार ९७६, मसलबन्द तथा कार्यालय सामग्रीमा १४ लाख ३६ हजार २९८, अनुगमन मूल्यांकन खर्च ३३ लाख ५२ हजार ३०५ र अन्य १ कराेड २४ लाख १ हजार ५३७ गरी कुल ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च भएकाे छ ।

यता अघिल्लाे आर्थिक वर्ष प्रचण्ड नेतृत्वमा पारिश्रमिकमा २ कराेड ४० लाख २६ हजार ८७१, पाेशाक शिर्षकमा ४ लाख ८८ हजार २१०, सञ्चार महशुल शिर्षकमा ७९ हजार, इन्धनमा ७३ लाख ८१ हजार २७०, सवारी साधन मर्मततर्फ ५९ लाख ५० हजार ९२६, मसलबन्द तथा कार्यालय सामग्रीमा ५१ लाख, अनुगमन मूल्यांकन खर्च २१ लाख ९४ हजार ९६१ र अन्य १ कराेड ६९ लाख १३ हजार ८८९ गरी कुल ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्